समाज

बढ्दै पारिवारिक अन्तरघुलन, घरमा काम सघाउदै युवा

पाँचथर– कोरोना भाइरस (कोभिड–१९)को त्रास व्याप्त छ। लकडाउनका कारणले सहर, बजार ठप्प छन्। अध्ययन, व्यापार व्यवसाय तथा रोजगारीका लागि घर बाहिर बस्नेहरु यतिबेला घर आएका छन्। बन्दाबन्दी लम्बिदै जादा पारिवारीक अन्तरघुलन भने बढ्दै गएको देखिन्छ।

त्रासका बीच घरमै रमाउने, विभिन्न परिकार बनाउने, मिलेर घरायसी काम गरीरहेका छन्। लामो समययता यसरी पारिवारीक जमघट हुन छाडेको थियो। सहर तथा बजारकाहरु गाँउको घरमा पुगेका छन्। बजारमा व्यवसाय गर्नेहरु घरमै छन्।

यसरी लामो समयसम्म परिवारका सदस्य एकैठाँउ बसेर भलाकुसारी पछिल्लो समय हुन छाडेको थियो। चाडबाडको समयमा पनि छोटो समयमा मात्र पारिवारीक जमघट हुने गथ्र्यो।

उता विभिन्न ठाँउबाट गाउँमा युवाहरु पुगेका छन्। रोजगारी, अध्ययन, व्यापार व्यवसायका लागि बाहिर रहेका उनीहरु पुगेपछि गाउँमा चहलपहल देखिएको छ। तुलनात्मक रुपमा ग्रामिण क्षेत्र कोरोना भाइरसबाट सुरक्षित हुने अनुमान गरिएको छ। बढि किसान भएका ग्रामिण क्षेत्रमा धमाधम खेतीपातीका काम भईरहेका छन्। बाहिरबाट आएका युवाहरु यतिबेला घरमा काम सगाउदै छन्।

अध्ययनको लागि काठमाडौँ बसिरहेका दक्षिणी मिक्लाजुङ गाउँपालिकाका मौसम ढकाल यतिखेर घरमा काम सघाईरहेको बताउँछन्। ‘चैते धान रोपीयो, अहिले मकै छर्ने लगायका काम भईरहेको छ’ ढकालले भने ‘ममात्रै होईन बाहिरबाट आएकाहरु गाँउमा काम सघाईरहेका छौँ।’

चैते धान, मकै छर्ने, अदुवा रोप्ने, अलैचीको हेरचाह गर्ने, दाउराको जोहो गर्ने, पशुपालन तथा घरायसी कामहरु युवाहरुले गरीरहेको देखिन्छ। कतिपयले समाजिक सञ्जालमा तस्बिर लगाउन समेत भ्याईरहेका छन्। हिलिहाङ–७ भारपाका राजेन्द्र काफ्ले भन्छन,‘सहर बसेकाहरु गाउँ मात्र आएका छैनन्, अफ्ठ्यारोमा गाँउनै चाहिने रहेछ भनेर घर मर्मत गर्ने काम समेत गरीरहेका छन्।’

बन्दाबन्दी लम्बिदै जादा युवाहरु घरमा काम सघाईरहेका देखिन्छन् । काठमाडौँबाट फिदिम आएका उत्सव भट्टराई पुरानो घर मर्मतमा खटिएका छन्। ‘समय पनि कट्ने, घरको काम पनि हुने अवस्था छ’, भट्टराईले बताए। गाउँमा युवाहरुको चहलपलह छ। गाउँमा लकडाउनको कम प्रभाव छ। छरछिमेकमा भेला हुने, खसी, कुखुरा काट्ने लगायका कामहरु भईरहेका छन्। फिदिमबाट फालेलुङ गाउँपालिका–६ पुगेका जीवन राईका अनुसार गाँउमा चाडबाड झै मान्छेहरु गाउँमा छन्।

चाडबाडमा छोटो समय मात्र गाउँ बस्नेहरुको बसाई लम्बीएको छ। राईका अनुसार घाँस दाउरा, तथा खेतीपातीमा युवाहरु सक्रिय छन्। घरमा रहेका बुढापाकाहरु परिवारका सदस्य आएर काम सघाउदा खुसी भएको राईको भनाई छ।

प्रकाशित: २७ चैत्र २०७६ १२:२२ बिहीबार

पारिवारिक_अन्तरघुलन युवा कोभिड–१९ लकडाउन