समाज

जिल्ला भित्रिने क्रम रोकिएन

जुम्ला- सरकारले कोरोना भाइरसको संक्रमण हुुन नदिको लागि लकडाउन गरेपछि पैदलमार्गबाट जिल्ला भित्रिने क्रम रोकिएको छैन। अहिले पैदलमार्गको प्रयोग गरेर सयौँ मानिसहरु अन्य जिल्लाबाट आउजाउ गरिरहेका छन्। उनीहरु बाटोमा दुःख कष्ट बेहोरेर भएपनि जिल्ला भित्रिने गरेको स्थानीय बताउँछन्।

बुधबार सुर्खेतको छिन्छु, जाजरकोट हुँदै १३ जना जुम्ला पुगेका छन्। उनीहरु जुम्लाको टोप्ला लेक काटेर घर फर्किएका हुन्। अलपत्र अवस्थामा जाजरकोटबाट मानिसहरु भित्रिरहेको खबर पाएपछि जुम्लास्थित कुडारी र रारालिही प्रहरी चौकीले उनीहरुलाई उद्धार गरेको थियो।

नाग्म प्रहरी चौकी रारालिहीका इन्चार्ज सई कृष्णबहादुर खड्काका अनुसार उनीहरु ६ दिन पैदल हिडर जुम्ला पुगेका थिए। जाजरकोटको बाटो हुँदै जुम्ला पुगेका उनीहरु ४ जना जुम्ला हिमा गाउँपालिकाका हुन्। ४ जना कालिकोट पलाता गाउँपालिकाका रहेका छन्। ५ जना तिलागुफा नगरपालिकाका रहेको प्रहरीले जनाएको छ। ब्यापारका शिलशिलामा प्युठान जिल्लामा पुगेका उनीहरु रातारात पैदल मार्ग प्रयोग गरेर जुम्ला पुगेका थिए।

टोप्लाबाट उनीहरुलाई प्रहरीले उद्धार गर्‍यो, नाग्म प्रहरी चौकीका इन्चार्ज कृष्णबहादुर खड्का भन्छन्,‘जुम्ला कालिकोटको सिमाना नाग्ममा रहेको स्वास्थ्य सहायता केन्द्रमा स्वास्थ्य चेक गराएर सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाइयो।’ उनीहरुलाई क्वारेन्टाइनमा राख्न आग्रह गरिएको प्रहरी चौकी रारालिहीले जानकारी दिएको छ। प्रहरीलाई उनीहरुले रातदिन हिडेको, भोकभोकै हिडेर आएको दुखेसो पोखेका थिए।

हिमा गाउँपालिकाका ४ जनालाई क्वारेन्टाइनमा राखिने प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले जानकारी दिए। प्रहरीले उद्धार गरेका उनीहरु आफै होम क्वारेन्टाइनमा बस्ने तयारीमा रहेको बताउँछन्। सरकारले सबैतिर लकडाउन गरिरहेको भएपनि यहाँका स्थानीयले पैदल मार्ग प्रयोग गरेर जिल्ला भित्रिने क्रम बढेको छ। जुम्लाका सवारी चल्ने सडकदेखि पैदल मार्गमा समेत आवतजावत ठप्प पार्न प्रशासनलाई स्थानीयले आग्रह गरेका छन्। अहिले जहाँ छन्। त्यही बस्ने वातावरण बनाएर आवतजावात बन्द गरिदिनको लागि आग्रह गरेका हुन्।

जुम्लाको कर्णाली करिडोर क्षेत्रमा लकडाउनको पालना हुन नसकेको स्थानीयले गुनासो गरेका छन्। गाउँतिर लकडाउन निकै प्रभावकारी बन्दै गइरहेको छ। तर करिडोर क्षेत्रमा रहेका साना बजारहरुमा भिडभाड देखिने गरेको छ।

 

प्रकाशित: २७ चैत्र २०७६ १२:०२ बिहीबार

कोरोना लकडाउन त्रास