समाज

‘विपद् व्यवस्थापन कोष’मा सहयोगी हात

रोल्पा- कोरोना महामारीको त्रास फैलिरहदा बिभिन्न स्थानीय सरकारले रोकथाम र व्यवस्थापनका लागि अनेक उपायहरु अपनाइरहेका छन्। यसैबीच रोल्पा नगरपालिकाको ‘विपद् व्यवस्थापन राहत कोष’मा सहयोग रकम समेत जुट्न थालेको छ। नगरपालिकाले सुरुमा १२ लाख ६० हजार जम्मा गरेर कोषको सुरुवात गरेको थियो।

केहि दिनयता उक्त कोषमा बिभिन्न सहयोगीबाट रकम आउन थालेको नगरपालिकाले बताएको छ। कोषका लागि कपिलवस्तु चन्द्रौटाका स्यामलाल बन्जाडेले १ लाख रुपैयाँ दिएका छन्। त्यसैगरि नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष खड्कबहादुर खत्री ‘तोराबोरा’ले १५ हजार रुपैयाँ थपेका छन्।

विपद् व्यवस्थापनमा सहयोग पुग्ने भन्दै सो कोषमा रोल्पा उद्योग बाणिज्य संघका अध्यक्ष बिश्वकुमार चन्दले १५ हजार रुपेयाँ, नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापाघर्तीले ५ हजार रुपैयाँ, जलजला कन्स्ट्रक्सन प्रालीले ५० हजार रुपैयाँ र नेपाल मोदर कन्स्ट्रक्सन प्रालीका ईश्वर केसिले ५० हजार रुपैयाँ कोषमा जम्मा गरेका हुन्।

नगरपालिकाका अनुसार उक्त कोषबाट अति बिपन्नलाई राहत वितरण र स्वास्थ्य सामग्री खरिदमा प्रयोग गरिने छ। ‘हामिले यो कोषको प्रयोग गरेर कोरोना नियन्त्रण र रोकथामका लागि काम सुरु गरेका छौं। बजेट अपुग भएमा अन्य शिर्षकबाट रकमान्तर गरेर बजेट थप्न सकिने।’ रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसिले भने ‘सबैको समन्वय र आम आवश्यकता हेरेर रकम खर्चिने छौ।’

उनले विपद्को यो समयमा ‘विपद् व्यवस्थापन राहत कोष’मा सहयोग गर्न चाहनेहरुलाई नेपाल बैङ्क लिमिटेड रोल्पामा रहेको खाता न. ०७६००१०६६६५६५३०००००१ मा रकम जम्मा गर्न सकिने बताएका छन्।

प्रकाशित: २७ चैत्र २०७६ ११:२६ बिहीबार

विपद्_व्यवस्थापन_कोष कोरोना