समाज

असुरक्षित क्वारेन्टाइन: समूहमा बस्नुपर्ने बाध्यता, तीन जनाले ओढ्छन् एउटै सिरक

डोटी आदर्श गाउँपालिकाको शारदा माध्यामिक विद्यालयको ‘क्वारेन्टाइन’मा राखिएका हरु। तस्विरः अरुण बम।

दिलबहादुर छत्याल/धनगढी
बिरा गडाल/बैतडी
अरूण बम/डोटी 

चैतको दोश्रो सातातिर कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पछि भारतबाट आएका हजारौ नेपालीहरु घर घर पुगिसकेका थिए। त्यतीवेला स्थानीय तह धमाधम क्वारेन्टाइन निर्माणमा जुटे।

सरकारले लकडाउन गरेपछि सुदूरपश्चिमको धनगढीको त्रिनगर र महेन्द्रनगरको गड्डाचौकीमा जम्मा भएका १ हजार ५ सय बढी जनालाई चैत ११ गते प्रशासनले नै क्वारेन्टाइनमा अनिवार्य बस्ने भन्दै घर जान दियो। ती मध्ये धेरैजसो स्थानीय तहले बनाएका बिभिन्न क्वारेन्टाइनमा बस पनि कयौ जना घर घर गए।

लकडाउनपछि लुकिछिपी आएका र भारतबाट पहिले आएका मध्य केही व्यक्तीलाई ल्याएर पनि क्वारेन्टाईनमा राखियो। सबै गरेर अहिले सुदूरपश्चिमका ९ जिल्लामा क्वारेन्टाईनमा २ हजार ४ सय ८ जना छन्। संभावित मान्छे आफूपनि सुरक्षित होस र यदी संक्रमण भएको भए अरुलाई पनि नसार्न सकोस भनेर क्वारेन्टाइनमा राख्ने गरिएपनि याहाँका क्वारेन्टाइन र क्वारेन्टाईनमा बस्नेको कथा बेग्लै छ।

विश्व स्वास्थ्य संगठनको मापदण्डको कुरा त छोडौं कुनै कुराको सावधानी नअपानाई कोचाकोच गरेर, २/३ जनाले एउटै सिरक ओढ्ने, सामूहिक रुपमा बस्ने, खाने गरी भारतबाट फर्केकालाई क्वारेन्टाइनमा राखिएको छ। अहिले जसरी क्वारेन्टाइनमा राखिएको छ। त्यो गलत भएको र त्यसले बढी जोखिम बढाउने बिज्ञहरुले बताएका छन्।

‘क्वारेन्टाईनमा बस्ने भनेको एक्ला एक्लै हो, सकभर एक कोठामा एक जना बस्ने, अलग्गै खाना पकाउने, बाथरुम सबैै अलग हुनुपर्ने हो’प्रादेशिक सेती अस्पतालका फिजिसियन शेर बहादुर कमरले भने,‘अलग कोठा गर्न सकिएन भने पनि एक मिटरको दुरी कायम गर्ने , बाथरुम प्रयोग गर्दा, खाना खादा, पानी प्रयोग गर्दा सुरक्षाको उपाय अपनाएर बस्नु पर्ने हो।’

 एक जनाले अर्कोसंग घुलमिल हुनु नपर्ने उनी बताउँछन्। एउटै बाथरुम प्रयोग गर्नुपरेमा एकले प्रयोग गरेपछि सरसफाई गर्ने, ढोकामा सेनेटाईजरले सफा गर्ने र अनि मात्र अर्कोले प्रयोग गर्ने त्यस्तै अन्य कुरा प्रयोग गर्दा पनि एकबाट अर्कोमा संक्रमण सर्न नसक्ने उपाय अवलम्बन गरिनुपर्ने उनको भनाई छ।

 विश्वसास्थ्य संगठनले क्वारेन्टाइन र आइसोलेसन राखेका व्यक्तीका लागि निर्देशिका नै जारी गरेको उनी बताउछन्।‘क्वारेन्टइनमा लहरै संगै सुत्ने, कोचाकोच भएर वस्ने, समूहमा बस्ने जो देखिएको छ, यो बेठिक हो’उनी भन्छन्,‘क्वारेन्टाईनमा यसरी बस्दा त झन बढी जोखिमको खतरा हुने गर्छ।’ क्वारेन्टाइनमा बसेका प्रत्येक व्यक्तीलाई स्वास्थ्यकर्मीको निगरानी समेत हुनुपर्ने उनको भनाई छ।

भारतबाट फर्केका क्वारेन्टाइनमा बसेका कैलाली लम्की चुहा नगरपालिका वानं ९ का युवक र कंचनपुर बेदकोट नगरपालिका १० का एक जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ। उनी दुवै जनामा कुनै लक्षण देखा परेको थिएन।

 क्वारेन्टाईनमा बसेका कुनै व्यक्तीमा कोरोना को संक्रमण भएमा क्वारेन्टाइनमा बसेका अन्यमा पनि फैलिने उच्च जोखिम रहेको छ।‘कोरोनाको कोभिडको संक्रमण हुन सक्छ भनेर नै क्वारेन्टाइनमा राख्ने हो, क्वारेन्टाईनमा राखेको प्रत्येक व्यक्तीलाई आइसोलेसनमा राखेको जस्तै उसबाट अर्को व्यक्तीमा संक्रमण नसर्ने गरी अलग राखिनु पर्छ,’ वरिष्ठ फिजिसियन शुभेस राज कायस्थ भन्छन्,‘क्वारेन्टाइनमा राखेका व्यक्तीको घुलमिलले संक्रमण फैलिने बढी जोखिम हुन्छ।’ 

बैतडीका १० स्थानीय तहले  एक हजार २६ बेडका क्वारेन्टाइन बनाएका छन्। स्थानीय विद्यालयमा निर्माण गरिएका क्वारेन्टाइन मापदण्ड अनुसार छैनन्। विदेशबाट आएका स्थानीयलाई कम्तिमा १४ दिन क्वारेन्टाइनमा राख्नको लागि स्थानीय तहले खाना, बस्नको व्यवस्था गर्दै आए पनि अधिकांश क्वारेन्टाइनमा कोचाकोच बस्नु पर्ने वाध्यतामा छन्।केही जनालाई विद्यालयका बेन्चमा सुत्ने व्यवस्था बनाइएको छ भने अधिकाश भने भुँइमा सुत्ने गरेका छन्।

यहाँका क्वारेन्टाइनमा बसेकाहको सामाजिक दुरी कायम गर्न र अन्य कुनै सावधानी अपनाएको देखिदैन।

‘एक जनामा संक्रमण देखिए सबैलाई सर्ने जोखिम छ। क्वारेन्टाइनमा सुरक्षित हुनुको सट्टा झन जोखिम निम्ताएको छ।’क्वारेन्टाइनमा वसेका एक युवकले भने,‘हामीलाई कोरोनाको संक्रमण भए होस भनेर एक कोठाभित्र कोचाकोच हुलेर राखिएको छ।’

कोरोना भाइरसबाट जोगिन विज्ञहरुले कम्तिमा तीन मिटर दुरी कायम गर्न सुझाएका छन् तर संक्रमणको जोखिम कम गर्न बनाइएका प्रायसबै क्वारेन्टाइनको अवस्था नाजुक छ। भारतबाट भित्रिएका बढीजसो घर घर गएर घुमिरहेका छन् , उनीहरु कारण समुदायमा पनि जोखिममा छ। सीमित केही व्यक्ती क्वारेन्टाइनमा राखिएको उनीहरु पनि सबैै जोखिममा छन्।

भारत लगायत अन्य मुलुकबाट जिल्लामा करिब तीन हजार पाँच सय जनाभन्दा बढी भित्रिए पनि हालसम्म पाँच सय एक जना मात्र क्वारेन्टाइनमा बसेका छन्। विदेशबाट फर्केर आएका नागरिकको खोजी स्थानीय तहले नगर्दा गाउँमा खुलेआम घुम्न थालेको सिगास गाउँपालिका–६ का पदमसिंह रोकायले बताए।  स्थानीय तहले विदेशबाट आएको तथ्यांकसम्म खोज्न सकेको छैन।

बैतडीको शिवनाथ र सुर्नया गाउँपालिकाले मात्र विदेशबाट आएका नागरिकको तथ्यांक संकलन गरेको छ। शिवनाथका ९ सय ७ जनामध्ये ८ जना मात्र क्वारेन्टाइनमा बसेका छन्। सुर्नयाका ४ सय दुईमध्ये ४१ जना मात्र क्वारेन्टाइमा रहेका छन्। अन्य स्थानीय तहमा पनि क्वारेन्टाइनमा बस्नेको संख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

सीमा पारी भारतमा रहेका नेपालीको झन बिजोग छ। एउटै कोठामा करिब ५० जनासम्म राखेको छ। बैतडीको झुलाघाट र दार्चुला जिल्लाको सीमा पारी करिब एक हजार दुई सय ५० भन्दा बढी नेपाली नागरिकलाई  क्वारेन्टाइनमा छन्। भारत सरकारले विभिन्न विद्यालय, धर्मशालामा बस्ने व्यवस्था गरेका छ।

 तर क्वारेन्टाइनको मापदण्ड अनुसार नहुँदा समस्या भएको झुलाघाटको जामिरपानी क्वारेन्टाइनमा बसेका लोकेन्द्र पार्कीले बताए। भारतमा मजदुरी गर्दै आएका उनीहरु सीमानाका बन्द भएपछि सीमामै अलपत्र परेका थिए। अलपत्र परेकाहरुलाई सीमा पारीका विभिन्न विद्यालय, धर्मशालामा बस्ने व्यवस्था गरिए पनि ओढ्ने ओछ्याउने व्यवस्था नहुँदा सास्ती भोग्दै आएका छन्।

‘ हामीलाई कोचाकोच गरेर राखिएको छ, एउटै ठाउँमा कोचिएर बस्दा रोग सर्ने त्रास छ।’ एक हप्तादेखि दार्चुला जिल्लास्थित सीमा पारी धार्चुलाको राजकीय इन्टर कलेज, बल्लाकोटमा बसेका पुर्चोडी नगरपालिका–४, का दीपक धानुकले भने ‘बस्न खानको ठेगान छैन, गर्मी त्यतीकै छ कोचाकोच बस्नु पर्दा विभिन्न रोगको संक्रमण बढने संभावना छ।’ दार्चुला बल्लाकोटमा मात्रै करिब ५ सय जना १५ कोठामा बस्दै आएका छन्। एउटै कोठामा ५० जनासम्म कोचाकोच गरेर सुत्छन्। क्वारेन्टाइनमा हुनुपर्ने समान्य मापदण्डसमेत नभएको ठाउँमा कोचाकोच गरेर बस्दा झन रोगको संक्रमण बढेको छ। स्वास्थ्य जाँच गर्न पहिलो दिन मात्र स्वास्थ्यकर्मी आए त्यसपछि फर्केका छैनन। कुनै एक जनामा संक्रमण भए सबैलाई सर्ने डर भएको धानुकले बताए।

कलेजमा ४ वटा मात्र शौचालय छन्। पालो पाउन मुस्किल हुन्छ। अधिकांश महाकाली नदी किनारमै खुला ठाउँमा दिसापिसाव गर्न बाध्य छन्। फोहर त्यतिकै छ झन हैजाको प्रकोप आउने त्रास उनीहरुलाई छ। ‘आफ्नो देशको क्वारेन्टाइनमा जति दिन राखे पनि खुसी छौं,’ दार्चुला नौगाड गाउँपालिकाका–५ का का जयबहादुर ठगुन्नाले भने, यहाँ भोकभोकै मार्नुभन्दा हामीलाई उद्धार गरेर गाउँमै मर्न दिनुस्।’

डोटीका क्वारेन्टाइनमा पनि बेजोग अवस्था छ। भूईँमा कार्पेट विछ्याइएको छ। त्यसमाथि म्याट छ। त्यसैमाथि लहरै दर्जनौ व्यक्ती पल्टीएका छन्। तीनजनासम्मले एउटै कम्मल ओढेका छन्। यो दृश्य डोटी आदर्श गाउँपालिकाको शारदा माध्यामिक विद्यालयको ‘क्वारेन्टाईन’को हो। जुन दृश्य आईतबार क्वारेन्टाईनमै रहेको आदर्श गाउँपालिका–५ लामिखालका नरेश नागरीले ‘फेसबुक लाईभ’मार्फत कैद गरेर पोष्ट्याएका छन्। 

विश्व नोवेल कोरोनाभाईरस(कोभिड–१९) को महामारीसंग जुझिँरहेका बेला मानिसहरु एकअर्कासंग नजिकिन डराइरहेका छन्। विज्ञहरुले पनि कम्तिमा तीनमिटरसम्मको दूरी कायम गर्न भनेका छन्। तर, संक्रमणको जोखिम न्युनिकरण गर्नका लागि प्रयोग गरिने विधि क्वारेन्टाईनमा भने यस्तो बेजोग छ। भारतमा कोरोनाको संक्रमण फैलिएको र भारतवाट फर्केकामा संक्रमण देखिसकेकाले क्वारेन्टाईनमा वस्नेहरु त्रसित भएका छन्।

सरकारले ‘कोरोनाभाईरस (कोभिड–१९)सम्बन्धी क्वारेन्टाईन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड’मा एउटा कोठामा बढीमा तीनजनासम्म राख्न भनेको छ। जसमा पनि दुईबेडबीचको दुरी साढेतिन फिटसम्म राख्न भनेको छ। तर क्वारेन्टाईनमा यस्तो अवस्था देखिन्छ। 

‘कम्तीमा तिनमिटर टाढा बस्नुपर्छ। हात जोड्नुहुदैन्। खानपानमा सजग हुनुपर्छ भन्ने सुनेका थियौ,’ क्वारेन्टाईनमा रहेका नागरीले भने,‘यहाँ पुग्दा त २५ जनासम्म एउटै कोठामा बस्नुपर्ने अवस्था छ ’ 

सो विद्यालयमा बनाइएको क्वारेन्टाईनमा ७२ जना राखिएका छन्। जसमा सात महिला र सात बालबालिका समेत छन्। महिला र बालबालिकालाई एउटै कोठामा राखिएको र बाँकीलाई तीन कोठामा राखिएको क्वारेन्टाईनमा रहेकाहरुले बताएका छन्।
 
‘एउटै विस्तारामा सुतेर तीनचार जनाले एउटै कम्मल ओढ्नुपर्छ। ’ सोही ठाउँमा क्वारेन्टाईनमा रहेका आदर्श गाउँपालिका–२ साउँदकाँडाका विष्णु साउँदले भने,‘यहाँ त कोही एउटालाई मात्रै कोरोना भएको भए आए सबै सखाप हुन्छौ।’

उनीहरुमध्ये अधिकांश चैत्र ११ गतेका गौरिफण्टाको नौ सय ९९ जनाको भिडमा रहेका व्यक्तीहरु छन्। जसमध्येका कैलालीका एक २१ वर्षिय युवामा कोभिड–१९ को पुष्टी भईसकेको छ। 

आदर्शको क्वारेन्टाईनको मात्रै होईन, जिल्लाका स्थानीय तहहरुले बनाएका अधिकांश क्वारेन्टाईनको अवस्था यस्तै छ।  स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जिल्लामा सरकारले जारी गरेको क्वारेन्टाईनको मापदण्डअनुसार राख्न नसकेको स्विकार गरे। ‘निर्देशिकाले एउटा कोठामा एकजना बढीमा दुईजनासम्म राख्ने भनेको छ। चिकित्सकसहितको टोली र सुरक्षाकर्मीसम्मको व्यवस्था भनेको छ,’ उनले भने,‘जुन हाम्रो परिवेशमा सम्भव नहुने अवस्था भयो।’ यद्यपी स्वास्थ्य संयन्त्रले सक्दो काम गरिरहेको उनले बताए। 

क्वारेन्टाईनमा बसेकाहरुबाट समाजमा गएर हुने संक्रमणको जोखिम घटाएपनि आपसी संक्रमणको सम्भावना भने घटाउन नसकेको यथार्थ उनले स्वीकारे। ‘कतियप समस्याले हामीले व्यवस्थापन गर्न नसकेको अवस्था छ। कतिपय उहाँहरुको व्यक्तीगत सतर्कता नभएर पनि या अवस्था छ,’ स्वास्थ्य कार्यालय प्रमुख मलासीले भने।

डोटीका नौ वटा स्थानीय तहमा हाल चार सय २१ जनालाई क्वारेन्टाईनमा राखिएका छ। जसमा बोगटान फुड्सील गाउँपालिकामा पाँचवटा क्वारेन्टाईन एकसय ४२ जना रहेका छन्। आदर्श गाउँपालिकामा ८१ जना, बडीकेदार गाउँपालिकामा ४५, जोरायल गाउँपालिकामा सात, पूर्वीचौकी गाउँपालिकामा दुर्ई, केआईसिंह गाउँपालिकामा १३, सायल गाउँपालिकामा २१, शिखर नगरपालिकामा ७६ र दिपायल सिलगढी नगरपालिकामा ३४ जना क्वारेन्टाईनमा छन्।

प्रकाशित: २६ चैत्र २०७६ १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App