समाज

‘लकडाउन’मा खटिएका प्रहरीलाई यातायात व्यवसायीको सहयोग

प्रहरीलाई पानी, खाजा लगायतका सामग्री हस्तान्तरण गर्दै यातायात व्यवसायी । तस्बिर : नागरिक

खोटाङ– खोटाङ यातायात प्रालि खोटाङले ‘लकडाउन’का क्रममा ड्युटीमा खटिएका प्रहरीलाई फास्टफुड तथा सरसफाईका सामग्री प्रदान गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’लाई सफल बनाउनका लागि खटिएका प्रहरीलाई प्रालिले ३५ हजार बराबरको पानी, बिस्कुट, चाउचाउ, जुस, सावुन, स्यानिटाइजर लगायतका सामग्री प्रदान गरेको हो।

‘लकडाउन’काक्रममा खटाइएका प्रहरीले उपयोग गर्न पाउने गरी यातायात प्रालिले २० काटुन मिनरल वाटर, ६ काटन बिस्कुट, १० काटन फ्रुटी, २० काटन चाउचाउ, ३ पिस मिक्स जुस, ७० डल्ला सावुन, २ बोत्तल स्यानिटाइजर र ६ थान ग्लोब्स प्रदान गरेको जनाएको छ। यातायात प्रालिका महासचिव राम हिङमाङ लगायतको टोलीले बुधबार प्रहरी नायव उपरिक्षक वामदेव गौतमलाई फास्टफुड तथा सरसफाईका सामग्री हस्तान्तरण गरेका हुन्। संकटका बेलामा ज्यान जोखिममा राखेर खटिएका प्रहरीको हौसलाका लागि फास्टफुड प्रदान गरिएको खोटाङ यातायात प्रालिका कोषाध्यक्ष गोविन्द कटवालले बताए।

विशेषगरी लकडाउनका क्रममा पसल बन्द रहेको अवस्थामा भनेको समयमा खाजा र पानी खान नपाइरहेका प्रहरीलाई लक्षीत गरेर यातायात व्यवसायीले प्रहरीलाई खाजापानी र सरसफाईका सामग्रीको व्यवस्था गरेको जनाएको छ। प्राप्त भएको सामग्री नेपाल प्रहरी, शसस्त्र प्रहरी र लकडाउनका क्रममा समस्यामा परेका नागरिकको सहयोगमा उपयोग गरिने प्रहरी नायब उपरिक्षक गौतमले बताए।

यातायात मजदुरलाई खाद्यान्न
यस्तै, खोटाङ यातायात प्रालिले यातायात बन्द भएपछि घर जान नपाएका यातायातको क्षेत्रमा काम गर्ने चालक, सह–चालक, ग्यारेजमा काम गर्ने मिस्त्रीलाई खाद्यान्नका सामग्री प्रदान गरेकोे छ। यातायात क्षेत्रका मजदुरलाई प्रतिव्यक्ति १२ केजी चामल, १ प्याकेट तेल, १ केजी नुन, १ केजी दाल, १ केजी चिनी, सावुन, चियापत्ती, बिस्कुट लगायतका सामग्री प्रदान गरिएको हो। यातायात मजदुरलाई २२ हजार बराबरको खाद्यान्न सहयोग गरिएको यातायात प्रालिले जनाएको छ।

यसअघि सक्रिय बचत तथा ऋण सहकारी संस्था दिक्तेल र निर्माण व्यवसायी संघले पनि प्रहरीलाई पानी, जुस, विस्कुट लगायतका सामग्री प्रदान गरेका थिए।

 

 

प्रकाशित: २६ चैत्र २०७६ ११:५३ बुधबार

लकडाउन यातायात_व्यवसायी कोभिड–१९ कोरोना