समाज

रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा किटनासक औषधि छर्किन सुरु

रसुवा- रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले गाउँपालिकाभित्र रहेका सबै स्थानमा किटनासक औषधि (डिसइनफेक्टेन्ट) छर्कन सुरु गरेको छ। गाउँपालिकाले पहिलो चरणमा बजार क्षेत्रमा औषधि छर्कन सुरु गरेको हो।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले मंगलबार स्याफ्रु र बुधबार धुन्चे बजारमा कोरोना भाइरसविरुद्धको किटनासक औषधि छर्ने काम गरिएको बताए। उनले यसलाई गाउँपालिकाको ६ वटै वडामा क्रमशः छर्कने काम गरिने बताए। अन्य क्षेत्रमा पनि सामग्री पुगिसकेको छ।

गाउँपालिकाले नेपाल प्रहरी, नेपाली सेना तथा वडा कार्यालयसँग समन्वय गरेर काम गरिरहेको छ। गाउँपालिकामा रहेका सरकारी कार्यालय, स्वास्थ्य चौकी, हेल्थ डेक्स, क्वारेन्टाइन, अत्यावश्यक सामग्री किनमेल गर्ने पसललगायतका आवश्यक स्थानमा कोरोनाको संक्रमण रोकथामका लागि यस विरुद्धको औषधि छर्ने काम गरिरहेको छ।

स्याफ्रुमा करिब हजार लिटर र धुन्चेमा चार सय लिटर औषधि छर्किएको छ। गाउँपालिकाभित्र रहेका हरेक नागरिकलाई कोरोना संक्रमण हुनबाट बचाउनका लागि गाउँपालिकाले विभिन्न काम गर्दै आएको गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले बताए। त्यसैगरी यसअघि कालिका गाउँपालिकाले जीवजीवे, कालिकास्थान लगायतका क्षेत्रमा पनि किटनासक औषधि छर्किने काम गरेको थियो।

प्रकाशित: २६ चैत्र २०७६ ११:१४ बुधबार

किटनासक_औषधि कोरोना काेभिड_१९