समाज

लक्षण नदेखिएपछि खुशीसाथ क्वारेन्टाइनबाट फिर्ता

सप्तरी - स्वास्थ्य निगरानीसहित क्वारेन्टाइनमा बसेको १४ दिनपछि सप्तरीको विभिन्न स्थानीय तहको क्वारेन्टाइनबाट ३७ जना खुशीसाथ घर फर्किएका छन्। कोरोना भाइरस सङ्क्रमणको कुनै लक्षण नदेखिएकाले दुई साताको बसाइपछि उनीहरूलाई बिदाइ गरिएको हो।

राजविराज नगरपालिका–२ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलबाट एक महिला र नौ पुरुष, कञ्चनरूप नगरपालिका–८ स्थित सर्वोदय माविबाट १० पुरुष, विष्णुपुर गाउँपालिका–७ स्थित जनता मावि विष्णुपुर कट्टीबाट नौ पुरुष तथा छिन्नमस्ता गाउँपालिका–३ स्थित चौरसिया धर्मशालाबाट एक महिला र सात पुरुष घर फर्किएका हुन्। स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाले यादवले १४ दिनको स्वास्थ्य निगरानीपछि सकुशल घर फर्किएकाहरूलाई तत्काल घरमै सुरक्षित बस्न निर्देशन दिई आफन्तको जिम्मा लगाएर घर पठाइएको बताए।

मजदुरीका लागि भारत, मलेशिया, कतार, साउदी अरबलगायत विभिन्न देश गएका उहाँहरू नेपाल फर्किएपछि क्वारेन्टाइनमा बसेका  थिए। अहिले क्वारेन्टाइनमा १४ पुरुष थपिएका छन्। महादेवा गाउँपालिका–३ स्थित मावि बथनाहामा छ, सुरुङ्गा नगरपालिका–५ स्थित मसिलाल मावि कुशहामा चार, राजगढ गाउँपालिका–३ स्थित जसमावि नर्घोमा तीन र अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ स्थित जनचेतना मावि घोघिदाहामा एक पुरुष क्वारेन्टाइनमा थपिएका हुन्। अब क्वारेन्टाइनमा सात महिला र २२० पुरुष रहेका छन्। कोरोना सङ्क्रमणको आशङ्कामा सप्तरीको राजविराजस्थित आइसोलेसनमा भर्ना भएकी एक महिलाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई पनि घर फर्काइएको छ।

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा बसेकी कञ्चनरूप नगरपालिका–११ गोरपारकी महिलाको रिपोर्ट नेगेटिभ आएको र ज्वरोलगायत अन्य स्वास्थ्य समस्या नरहेपछि घर फर्काइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासले जानकारी दिए। कोरोनाको लक्षण नभेटिएको र परिवारका सदस्यहरूसँग लामो समयपछि भेंट हुने दोहोरो खुशी लिएर घर फर्किएको कञ्चनरूपकी लीलादेवी खङ्गले बताइन्। रासस

प्रकाशित: २६ चैत्र २०७६ ०३:२७ बुधबार

क्वारेन्टाइन लक्षण सङ्क्रमण