समाज

रसुवामा चालकहरूलाई ‘ट्राभल हिष्ट्री कार्ड’

रसुवा - रसुवामा अत्यावश्यक सामग्री ढुवानी गर्ने मालवाहक सवारी साधन र एम्बुलेन्स चालकहरूलाई ट्राभल हिष्ट्री कार्ड जारी गरिने भएको छ। 

बाहिरी जिल्लाबाट रसुवामा प्रवेश गर्ने वा जिल्ला भित्र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधन र एम्बुलेन्स चालकलाई कार्ड जारी गर्न लागिएको हो। कोभिड–१९ को संक्रमण रोकथाम नियन्त्रणका लागि जिल्लामा गठित कमाण्ड पोष्टको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो। 

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गरी रसुवा जिल्ला प्रवेश गर्ने चालकहरूलाई रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा रहेको हेल्थ डेक्स कार्ड जारी गर्न लागिएको हो। 

यसका लागि कार्ड जारी गरेपछि डेक्सले सुपरीवेक्षण गर्ने छ भने स्वास्थ्य कार्यालयले यसको नमुना तयार पार्ने छ। यसैगरी जिल्लाभित्र सञ्चालनमा रहेका सबै एम्बुलेन्सहरूलाई जुनसुकै बखत उपलब्ध हुने गरी इस्टान्डबाइ राखिने छ। 

आकस्मिक अवस्थामा बिरामी लिई बाहिरी जिल्लामा जान परेमा जिल्लास्तरीय प्यासेन्ट रिसिभिङ टिम (पिआरटी) लाई अनिवार्य जानकारी गराउनुपर्ने छ।

प्रकाशित: २६ चैत्र २०७६ ०३:१३ बुधबार

‘ट्राभल_हिष्ट्री लकडाउन