समाज

कुकुरले टोकेर मान्छेको मृत्यु भएपछि सबै गाउँलेलाई रेबिजविरुद्धको खोप लगाइयो

गोरखा- सिरानचोक गाउँपालिका २ उपल्लो पामका ४५ वर्षिया रामबहादुर गुरुङको कुकुरले टोकेर मृत्यु भएपछि रेबिजको आशंकामा गाउँका ५० जनालाई खोप लगाइएको छ। माघ २ गते कुकुरले टोकेका उनीमा रेबिजको लक्षण देखिएको र फागुन १३ गते मृत्यु भएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए।

उनको मृत्युपछि त्रसित स्थानीय मध्ये १६ जनालाई पहिलो र दोस्रो चरणको खोप दिइएको र ३४ जनालाई पहिलो चरणको खोप आज दिइएको हो। पहिलो चरणमा १६ जनालाई गोरखा अस्पतालमै लगेर खोप दिइएको उनले बताए। तीन मात्रा खोप दिनुपर्ने हुन्छ। समूहमा नै खोप लगाउने पर्ने भएपछि गोरखा अस्पतालसँगको समन्वयमा गाउँपालिकाको स्वास्थ्य शाखाले घरघरमै खोप लगाउने व्यवस्था गरेको जनाएको छ।

गाउँपालिकाको स्वास्थ्य शाखाबाट खटिएको टोलीले सोधपुछ गर्दा रेबिजको लक्षणसँग मेल खाएको, माघ १० गते ८३ वर्षिय कलाबती गुरुङ र १६ गते ६६ वर्षका हर्कबहादुर गुरुङलाई पनि कुकुरले टोकेको थियो। छुट्टाछुट्टै तीनवटा कुकुरले टोकेकोमा दुईवटा स्थानीयले मारिदिएका थिए भने एउटा कुकुर हराएको स्थानीयले बताएका छन्। ‘एक जनाको मृत्यु भयो, अरु दुई जनालाई पनि टोकेको छ’ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख टुकमान श्रेष्ठले भने ‘अन्य व्यक्तिहरुमा पनि रेबिज लागेको हुनसक्ने आशंकामा जोखिम भएका सबै स्थानीयालाई खोप दिएका हौँ।’

रेबिज लागेको जनावरले टोकेको १ देखि तीन महिनामा रेबिज लक्षण मानिस तथा जनावरमा देखिन्छ। लक्षण देखिएको एक हप्तामा मृत्यु हुने खतरा रहने भएकाले स्थानीयमा त्रास कम गर्न गाउँपालिका स्वास्थ्य शाखा र स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले रेबिजको लक्षण, सर्ने अवस्था, ध्यान दिनुपर्ने उपाएका बारेपनि घरघरमा पुगेर जानकारी गराएको स्वास्थ्यकर्मी रामचन्द्र पाण्डेले बताए।

‘पर्चा बनाएर बाडेका छौँ, कोरोनाको त्रास भईरहेका बेला रेबिजको त्रास भयो, हामीले सम्झाई बुझाई गरिरहेका छौँ’ पाण्डेले भने। खोप लगाएपछि भने स्थानीयमा त्रास हटेको छ।

 

 

प्रकाशित: २५ चैत्र २०७६ १२:१८ मंगलबार

रेबिज खोप