समाज

कोरोना त्रास : सीमा जाेडिएकाे पुल भत्काइयो

अछाम- अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटी बगुडा र बाजुराको बुढीगंगा नगरपालिका बाह्बिस जोड्ने बुढीगंगा नदी माथिको झोलङ्गे पुल भत्काईएको छ। सरकारले हालै लकडाउनमा कडाई गर्नलाई एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नपाईने निर्णय गरेपछि बाजुरा जिल्लाबाट अछाम–बाजुरा आवत–जावत गर्ने क्रम नरोकिएपछि यस्तो गरिएको हो।

कैलाली कंचनपुरमा कोरोना संक्रमण एकै दिनमा तीन जनामा देखा परेर सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार पुगेपछि यसको त्रास सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला निकै बढेको छ। यती खेर भारतबाट आएकाहरुले सुदूरपश्चिम पहाडी जिल्लाका गाउँघर भरिभराउ रहेका छन्। स्थानीय लालबहादुर चदाराका अनुसार पुल नभत्काई पुलमा रहेका नट खोलेर केही स्टील प्लेट (फाल्यक)ले नै पुलमाथि बार बनाइएको छ।

स्थानीयलाई लकडाउनको पालना गर्न वडा कार्यालयले बारम्बार अनुरोध गरेको, तर कसैले नमाने पनि पुलमा रहेका केही स्टील प्लेटलाई पछी लगाउने गरि निकालिएको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटीले जनाएको छ।

प्रकाशित: २५ चैत्र २०७६ १०:२० मंगलबार

कोरोना सीमा_नाका काेभिड_१९