डोटी- कवि हेमन्त विवश ‘लकडाउन’का बेला गाउँ बढी सुरक्षित हुने विश्लेषण गरेर राजधानी काठमाण्डौँदेखि जन्मथलो डोटी आईपुगे। शहरी क्षेत्रभन्दा गाउँमा चहल–पहल कम हुने र सुरक्षित आहारव्यवहार हुने भएकाले उनी गाउँमा आएका थिए।
पछिल्ला केहीदिनयता भने आफ्नो विश्लेषण गलत साबित हुन थालेको महशुस हुन थालेको बताउँछन्। ‘जम्मै गाउँभरी भारतबाट आएकाहरु सल्बलाईरहेका छन्। न कसैलाई रोकतोक छ, न सावधानी !,’ उनी भन्छन्,‘यसले त गाउँमा बढी जोखिम देखायो।’
देशका अन्य क्षेत्रहरुमा गाउँ बढी सुरक्षित रहेको कथ्यहरु आईरहदा सुदूरपश्चिम प्रदेशका गाउँहरुको अवस्था कबि हेमन्तले भनेजस्तै छ। अहिले छिमेकी मुलूक भारतमा नोवेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण व्यापक मात्रामा झांगिदै छ। जहाँबाट अहिले लाखौ नेपाली नागरिकहरु सुदूरपश्चिम पसेका छन्। करिब एक लाख ४३ हजारभन्दा बढी भित्रिएको तथ्याङ्क सरकारी संयन्त्रले राखेको छ। ती सबै नागरिकहरु अहिले गाउँगाउँ पसेका छन्। जसले अहिले शहरभन्दा गाउँ बढी असुरक्षित छ।
‘स्वभाविक रुपमा कोरोना जहाँ बढी ल्याईएको हुन्छ। त्यहीँ बढी यसको जोखिम हुन्छ,’ डोटी बहुमुखी क्याम्पसका प्राध्यापक लोकराज भट्ट भन्छन्,‘भारतबाट आउने नेपालीहरुमा कोरोना आउन सक्ने खतरा कसैले नकार्दैन। उनीहरु सबैभन्दा बढी गाउँ पसेका छन्।’ राज्य उनीहरुलाई नेपाल पस्नासाथै अनिवार्य क्वारेन्टाइन गर्नबाट चुकेको उनले बताए।
राज्यसंयन्त्रको तथ्याङ्कमा करिब एक लाख ४३ हजार जना नेपाली सुदूरपश्चिमका सीमाबाट भित्रिदा हाल दुई हजार तीन सयको हाराहारीमा मात्रै क्वारेन्टाइनमा छन्। बाँकी सबै घरमा पसेर घरपरिवारसँग बसेका छन्। गाउँगाउँ डुलिरहेका छन्।
भारतबाट गाउँमा आएकाहरु घरभित्रै रहने, सामाजिक रुपमा नडुल्ने क्रियाकलाप पनि नदेखिएको बडीकेदार गाउँपालिका–५ का वडाध्यक्ष वुद्धिसागर विनाडीले बताए। ‘सबैकुरा राज्यले पनि गर्न सक्दैन। उहाँहरुले स्वफूर्त रुपमा घरभित्रै बसिदिनुपर्ने हो। तर के भन्ने ? गाउँगाउँ डुलिरहेका छन् भन्ने गुनासो व्यापक छ,’ उनले भने। उनीहरु भारतबाट आएको दुई साताभन्दा बढी समय भईसकेकाले चिन्ता थोरै कम रहेको प्रतिक्रिया दिए।
सरोकारवालाहरुले पनि भारतबाटै आएकाहरुबाट संक्रमणको बढी जोखिम देखेका छन्। ‘हामीकहाँ बढी जोखिम भनेकैै भारतबाट आएकाहरुबाट हो। जो यतिबेला गाउँगाउँमा पुगिसक्नुभएको छ,’ स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासी भन्छन्,‘उहाँहरुले सकभर आफै क्वारेन्टाइन भईदिए। गाउँगाउँ नडुलिदिए जोखिम कम हुन्थ्यो।’
भारतबाट गाउँमा आएकाहरुबाट संक्रमणको जोखिम जत्तिको छ, उत्तिकै उपचार नपाउने समस्या पनि शहरभन्दा बढी गाउँमा छ। ‘गाउँमा मान्छे मरेपछि पनि केबाट मर्यो ? भन्नेसम्म थाहा नहोलाजस्तो छ,’ बोगटान फुडसिल गाउँपालिका–१ का प्रेमसिँह धामी भन्छन्,‘उसैपनि रोग दबाउन बाध्य भएकाहरु कहाँ परीक्षण गर्न जाने, कहाँ उपचार हुने?’
जोखिम अत्याधिक छ। तर सतर्कता भने एकदम फितलो छ। पूर्वाधार तथा प्राबिधिक दक्षताको अभावमा स्थानीय सरकारहरु ‘लाचार’ देखिएका छन्। गाउँस्तरमा शंका गरिएको बिरामीलाई समेत ‘आइसोलेसन’ गर्न सक्ने स्तरको स्वास्थ्य संस्था छैन। डोटी जिल्लामा पाँचवटा अस्पतालका २० वटा आइसोलेसन कक्ष स्थापना गरिएका छन्। जसमध्ये सबै शहरी क्षेत्रका अस्पतालहरुमा मात्रै छन्। एम्बुलेन्स पनि डोटीमा १३ वटामात्रै छन्। गाउँपालिकाहरुमा आदर्श गाउँपालिकासंग एउटा पनि एम्बुलेन्स छैन।
‘थ्रोट स्वाँब’ लिन सक्ने पनि जिल्लामा तीनवटा अस्पताल मात्रै छन्। जसमा जिल्ला अस्पताल सिलगढी, सुजङ्ग अस्पताल, शैलेश्वरी अस्पताल दिपायल रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ।
प्रकाशित: २५ चैत्र २०७६ ०८:१६ मंगलबार