समाज

माझीलाई 'नुन र भुटुन'को समस्या

पाँचथरको माझिटारका तस्बिरहरु ः तस्बिर ःगिरिराज बाँस्कोटा/नागरिक

माझिटार (पाँचथर)– सोमबार दिउँसो माझीटारमा कोहि हेवा र तमोरमा नुवाईधुवाईमा थिए, कोहि गफिदै त कोहि खेतमा। बन्दाबन्दी(लकडाउन) चलिरहदा आर्थिक अवस्था कमजोर भएका माझी बस्तीका दैनिक ज्याला मजदुरी गर्नेहरु घरमै देखिए।

तमोर नदी र हेवा खोला नदीको किनारमा रहेको यो माझीटारका बासिन्दा न मास्क लगाएका देखिन्थे, न साबुनपानीले हात धोएको देखियो। सेटिनाईजर त निक्कै परको कुरा भो। सामाजिक दुरी कायम राख्ने भन्दा पनि भेला भएर गफ गर्दै गरेको देखिन्थ्यो। जिल्लाको हिलिहाङ गाँउपालिका–७ र फिदिम–४ माझिटारका बासिन्दालाई कोरोना भाईरसबाट जोगिने कुरा कसैले नसिकाएको पाइयो। 

तेह्थुमको सिमाना पनि नजिकै भएको यो ठाँउमा अहिलेपनि फाट्टफूट्ट मानिसहरु आहिपुग्दा रहेछन्। माछाका लागि प्रख्यात यो ठाँउमा  अरुबेला निक्कै चहलपहल हुन्थ्यो। माछा मार्ने परम्परागत पेशा भएका माझीहरु अन्य मजदुरी लगायका काममा पनि लागेका छन्। आर्थिक अवस्था कमजोर तथा शैक्षिक जनशक्तिको अभाव भएका माझी बस्तीमा कोरोना बारे सचेतना देखिएन। न सचेतना, न राहतको अवस्था माझीटारमा छ।

‘खै के हो। अलि अलि हल्ला सुन्छु। कसैले केहि सिकाएको छैन्। पर कता आयो भन्छन्, हामी खोलामा खेली हुर्केका माझीलाई नलाग्ला कि’६४ बर्षिय बुद्धिमान माझीले भने  ‘हामीलाई कस्ले सिकाउछ र ? काम नभएपछि त खानेकुरा पनि पो जुटाउन गारो हुदो रहेछ।’ 

मझीटारमा बन्दाबन्दीको प्रभावले खाद्यान्न लगायको अभाव देखिन थालेको उनीहरु बताउँछन्। अझै केहि दिन यस्तै हुने हो भने समस्या पर्ने उनीहरुको भनाई छ। धेरै जसो  माझिहरु अर्कैका जग्गामा बसेका छन्। थोरैकोमात्रै थोरै जग्गा जोडेका छन्। आर्थिक अवस्था कमजोर छ।

दैनिक माछा मार्नेबाहेक मजदुरीनै हो उनीहरुको पेशा। अधिया तथा बन्धकी लगाएका जग्गामा अलि अलि खेती हुन्छ।  माझी उत्थान संघका अध्यक्ष समेत रहेका स्थानीय जस बहादुर माभीmले बन्दाबन्दीपछिको दुखः सुनाउदै भने ‘माछा त मारिन्छ तर माछामा हाल्ने नुनको खाँचो हुन थाल्यो। रेडियो सरकारले सहयोग गर्दैछ भनेर सुनाउछ। हामीलाई गरेका छैन।’

‘गाँउपालिका अध्यक्षलाई फोन गरेर भने त्यस्तो सहयोग हुने भयो भने हामी दिन्छौँ भनेका छन्। नुन, भुटुन सकिन थाल्यो’ उनले भने ‘यस्तै रहने हो भने खानेकुराको पनि अभाव हुन्छ। सडकले खेत पुरिदियो, कुलो पुरिदियो। समस्या छनी। फेरि हामी माझिसँग कहाँ पर्याप्त जग्गा छ र ?’ 
अल्पसंख्या माझीहरु आर्थिक रुपमा समेत कमजोर हुँदा बन्दाबन्दिको मारमा परेका छन्।

‘एउटा केटोले बल्ल कोरीया जानका लागि नाम निकालेर उड्ने बेला भएको थियो। यो रोगले भनेर जान पाएन, यस्ले समस्या पर्ने रहेछ’उनले थपे। युवाहरु सचेतनाका बारे खासै जानकारी नभएको बताउथे। सरसफाईका बारेका खासै सचेत भएको देखिएन। सामाजिक दुरी कायम गरेको पनि देखिदैन। फिदिम तर्फका खेतमा केहि काम गरिरहेका देखिन्थे।

‘कम्पनीका कामहरु पनि रोकिएका छन्। खासै कामहरु छैनन्। बसिबसाईमात्र चलिरहेको छ’ स्थानिय युवा राजेन्द्र माझिले  बताए। पुष्पालाल (मध्यहाडी) लोकमार्गको सडक कालोपत्रे भएपछि यहाँ घुम्न आउने र माछा खान आउनेको चहलपहल बढेको थियो।

 

प्रकाशित: २४ चैत्र २०७६ १४:४९ सोमबार

माझीटार ‘ग्राउण्ड_जीरो’ माझी