समाज

सांसदकी श्रीमतीको उद्दार गर्न मन्त्रीको गाडी

वीरेन्द्रनगर- नेपाल सरकारले चैत ११ गतेदेखि लगाएको बन्दाबन्दी (लकडाउन) का कारण मुगुको छायानाथ रारा नगरपालिका–२, तुमा गाउँका शिवराज रावल (२४) र सोही गाउँ धर्मसिंह रावल (३९) सुर्खेतमा अलपत्र छन्। १४ दिनदेखि उनीहरू वीरेन्द्रनगरको एक खाजा पसलमा बसिरहेका छन्। गोजीमा पैसा छैन।

मुगुकै कतिपय सर्वसाधारण सुर्खेतका विभिन्न स्थानसँगै नेपालगन्जमा पनि अलपत्र छन्। उनीहरूको उद्दारका लागि जनप्रतिनिधिले चासो देखाएका छैनन्। तिनै जनप्रतिनिधि आफ्ना श्रीमती र आफन्त ल्याउन भने प्रदेशका मन्त्रीका झण्डावाल गाडीहरू प्रयोग भइरहेका छन्।

आइतबार मुगुका सांसद दानसिंह परियार श्रीमती लिन प्रदेश सरकारका एकजना मन्त्रीको गाडी लिएर बाँकेको राप्तीसोनारी गाउँपालिकाको अगैया पुगे। प्रदेश सरकारका अनुसार सांसद परियारले श्रीमतीलाई बाँकेबाट वीरेन्द्रनगर ल्याउन नसेकेको भन्दै अनुरोध गरेपछि झण्डावाल गाडी पठाइएको हो।

जनता अलपत्र पर्दा चासो नदेखाउने सांसदले श्रीमतीको उद्दार गर्न मन्त्रीको गाडी प्रयोग गरेपछि सांसद परियारको आलोचनासमेत हुन थालेको छ। सांसदले परियारले भने यो विषय आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए। यस विषयमा बुझ्न खोज्दा सांसद परियारले नागरिककर्मीलाई कुनै पार्टी निकटको आरोप लगाउँदै सामाजिक सञ्जालमा स्टाटस लेख्ने धम्की दिएका छन्।

प्रकाशित: २४ चैत्र २०७६ ०९:०७ सोमबार

सांसद मन्त्री गाडी