समाज

औषधि र विरामी ओसार्न निःशुल्क गाडी सुविधा दिने गाउँपालिका उपाध्यक्षको घोषणा

कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछाया शाही गाउँपालिकाको केन्द्र भार्मामा न्यायिक समितिको तर्फबाट मास्क र सावुन वडाध्यक्षलाई हस्तान्तरण गर्दै । तस्बिर: जनक/नागरिक

जाजरकोट- विश्वमा डरलाग्दो ढंगले महामारीको रुप लिएको नोवेल कोरोना भाइरसको संक्रमण रोक्नका लागि  आवश्यक औषधि तथा उपकरणहरु सम्बन्धित स्थानमा पुरयाउन र संक्रमित विरामीलाई उपचारका लागि अस्पतालसम्म लिनका लागि निःशुल्क गाडी सुविधा दिने यहाँकी एक गाउँपालिका उपाध्यक्षले घोषणा गरेकी छन्। कोरोनाको सम्भावित संक्रमणबाट आइपर्ने अप्ठेरोका बेला जनताको घर घरमा औषधि तथा स्वास्थ्यकर्मीहरु पुरयाउनका लागि आफ्नो निजी खर्चमा गाडी सुविधा दिने कुशे गाउँपालिकाकी उपाध्यक्ष रामछाया शाहीले घोषणा गरेकी हुन्।

गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरु, हेल्प डेस्कहरु र अन्य जरुरी स्थानहरुमा औषधि पुरयाउन र कोरोनाको संक्रमण भएका विरामीलाई स्वास्थ्य संस्था तथा अस्पतालसम्म पुरयाउनका लागि आफ्नो निजी खर्चमा गाडी सुविधाको सहयोग दिने उपाध्यक्ष शाहीले बताइन्। जनताको सेवा र राष्ट्रिय विपत्तीमा साथ र सहयोग दिन आफूले आफ्नो व्यावसायीक प्रयोजनका लागि सन्चालन भइरहेको बोलेरो गाडी उपलब्ध गराउने उपाध्यक्ष शाहीले बताइन्।

नेपाली काँग्रेको तर्फबाट उपाध्यक्षमा निर्वाचित शाहीले गाउँपालिकाको न्यायिक समितिको तर्फबाट खरिद गरिएका सर्जिकल मास्क, सावुन र सेनिटाइजर लगाएतका सामग्रीहरु कुशेका गाउँहरुमा वितरण गर्ने क्रममा  यस्तो घोषणा गरेकी हुन्। कोरोनाको संक्रमण रोक्ने क्रममा गाउँपालिकामा यातायातको कुनै पनि समस्या नहोस भनेर आफूले निजी खर्चमा गाडी सुविधा दिने घोषणा गरेको बताइन्। उनले कुशे गाउँपालिकाका कुनै पनि स्थानमा अत्यावश्यक औषधि र स्वास्थ्यकर्मीहरु पुरयाउन परे या कुनै सिकिस्त विरामीलाई उपचारका लागि अस्पताल लिन परे आफ्नो फोन नम्वर ९८५८०७७८५५ या ९७५८००३२०१ मा सम्पर्क राख्न पनि  सर्वसाधारणहरुलाई आग्रह गरेकी छन्।

शनिबार कुशे गाउँपालिकाको केन्द्र भार्मा लगाएतका विभिन्न वडाहरुमा न्यायिक समितिको तर्फबाट सामग्री वितरण गर्दे उपाध्यक्ष शाहीले सबै जनतालाइै सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न, गाउँमा भीडभाड नगर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन, भारत लगाएतका तेस्रो मुलुकबाट आएकाहरुको कडा निगरानी गरि क्वारेन्टाइनमा राख्ने काममा सहयोग गर्न सुझाएको बताइन्।

सानो हेलचक्रयाइ र कम्जोरीले ठूलो क्षति हुन सक्ने भन्दै सबैलाई उच्च सतर्कता र होसियारी अपनाएर सरकारलाई साथ दिन सर्वसाधारणलाई आग्रह गरिन्। उपाध्यक्ष शाहीले गाउँपालिकाको न्यायिक समितिको तर्फबाट कुशे गाउँपालिकाको विभिन्न वडाहरु पुगेर एक हजार मास्क, ९ सय ४८ वटा सावुन लगाएतका सामग्रीहरु वितरण गरेकी छन्।
 

प्रकाशित: २३ चैत्र २०७६ ११:१८ आइतबार

औषधि विरामी कोरोना_भाइरस