समाज

रसुवामा अत्याश्यक सामग्री आयातका लागि ढुवानी कार्ड जारी गरिने

रसुवा - रसुवामा अत्याश्यक सामग्री आयातका लागि ढुवानी कार्ड जारी गरिने भएको छ। जिल्लामा खाद्यान्न, औषधि, इन्धन, कुखुरा, कुखुराको चल्ला, दाना, फलपूmल, तरकारी, दुध लगायतका अत्यावश्यक वस्तु आयात गर्ने सवारीलाई ढुवानी कार्ड प्रदान गर्न लागिएको हो।

अत्यावश्यक वस्तुको ढुवानी एक स्थानबाट अर्को स्थानमा जिल्ला भित्र नै आवागमन हुने सवारी साधनको हकमा सम्बन्धित वडा कार्यालय वा व्यवसायी फर्मले जारी गरेको लिखित सिफारिस तथा अनुरोध बमोजिम प्रवेश गर्दा सुरुको सुरक्षा पोष्टले एकिन गर्ने छन्। मनासिव देखिएबमोजिम सुरक्षा पोष्टबाट सवारी साधनलाई ढुवानी कार्ड जारी गरिने छ। 

त्यसपछि हरेक सुरक्षा पोष्टले जारी गरेको ढुवानी कार्डमा समय खुलाई दरपिठ गरिने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। जिल्ला बाहिरबाट ढुवानी हुने सवारी साधनको हकमा ढुवानी भएको अत्यावश्यक मालवस्तुको बिलजिक र अन्य आवश्यक कागजात वा सम्बन्धित व्यवसायी तथा फर्मले जारी गरेको मिति र स्थान खुलेको सिफारिस÷अनुरोधका आधारमा प्रवेश गराइने छ। 

यसका लागि रसुवा र नुवाकोटको सीमा क्षेत्रमा रहेको बेत्रावती प्रहरी चौकीले ढुवानी कार्ड जारी गर्ने छ र यसको अभिलेख राख्ने छ। ढुवानी गर्ने सवारी साधनमा चालक तथा एक जना सहयोगी मात्र यात्रा गर्न पाउने छन्। उनीहरूले अनिवार्य रूपमा मास्क, पञ्जा र ह्याण्ड स्यानीटाइजरको प्रयोग गर्नुपर्ने छ।

प्रकाशित: २१ चैत्र २०७६ ०३:२३ शुक्रबार

अत्याश्यक_सामग्री_आयात ढुवानी_कार्ड