समाज

जुम्लामा विदेशबाट आउनेको तथ्यांक खोज्दै प्रशासन

जुम्ला - जिल्ला प्रशासन कार्यालय जुम्लाले विदेशबाट आउनेहरुको तथ्यांक संकलनको काम अघि बढाएको छ। भारत र खाडीमुलुकबाट आएका नागरिकहरुको तथ्यांक एकिकृत गर्ने काम स्थानीय प्रशासनले थालेको हो। जिल्ला स्थित  सवै स्थानीय तहको सहयोगमा  जिल्लाभरी भारत, तेस्रो मुलकबाट आएका व्यक्तिहरु र तिनिहरुको अवस्थाको वारेमा तथ्यांक संकलन गर्न थालिएको जिल्ला प्रशासन कार्यालय जुम्लाका सुचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए।

उनका अनुसार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा रहेको कोभिड कमाण्ड नियन्त्रण टिमले स्थानीय तहको सहयोगमा जिल्लाको एकिकृत तथ्यांक सार्वजनिक गरेको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा तीन सय ७१ जना भारतबाट र १३ जना अन्य तेस्रो मुलुकबाट जुम्लाका नागरिक जुम्लामा भित्रिएका छन्। ति मध्ये ७१ जना विभिन्न स्थानीय तहको क्वारेन्टाईनमा रहेका छन्।  यसैगरी ४६ जना होम क्वारेनटाईनमा रहेको जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा  रहेको छ। जुम्लामा स्थानीय प्रशासनको सक्रियतामा कोभिड १९ बिरुद्धको अभियानले तिब्रता पाएको छ।

 भारत खाडीमुलुक र नेपालका  विभिन्न जिल्लाबाट यो समयमा भित्रिएका ३ हजार ८ सय ७९ जनाको तापक्रम सहित विभिन्न स्वास्थ्य सहायता केन्द्रमा स्वास्थ्य जाँच गरिएको छ। उनिहरुलाई स्वास्थ्य सहायकता केन्द्र नाग्मा, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका, जुम्ला विमानस्थल, हिमा गाउँपालिकामा  स्वास्थ्य जाँच गरिएकोे जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए। अब जिल्लाको तथ्यांक हरेक दिन एकिकृत रुपमा आउने प्रमुख जिल्ला अधिकारी बञ्जाडेले जानकारी दिइन्। उनका अनुसार हरेक दिउँसो ३ बजे स्थानीय तह र जनस्वास्थ्य कार्यालयले प्रतिवेदन दिने त्यसपछि प्रशासनले दैनिक अपडेट गर्ने भएको छ।

संक्रमित सँगै जहाजमा उडेका एक यूवा क्वारेन्टाईनमा 
 संक्रमित संगै जहाजमा बसेर आएका जुम्लाका एक युवा भित्रिएको जानकारी प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको अध्यक्षतामा बसेको जिल्ला स्तरको कोभिड नियन्त्रण कमाण्ड टिमको आकस्मिक वैठक बस्यो। वैठकमा जिल्लामा भएका गतिविधी र गृहमन्त्रालयको निर्देशनको बिषयमा समिक्षा भयो।

हाल संक्रमित भएका एक व्यक्ति सँग जुम्ला कनकासुन्दरीका एक यूवा दिल्लीबाट जहाँजमा संक्रमित व्यक्ति सँगै आएको भन्ने थाहाँ भएपछि प्रहरीले खोजी गरेर पत्ता लगाएको छ। प्रहरी स्रोतको माथिल्लो निकायले दिएको निर्देशन अनुसार ति यूवा कहाँ छन् खोजेर जानकारी दिन भनेपछि होम क्वारेन्टाईनमा रहेको जानकारी प्राप्त भएको छ।   उनि काठमाण्डौमै रहेको र अहिले होम क्वारेन्टाईनमा बसेको पत्ता लागेको जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए। ति यूवा र परिवार प्रहरीको सम्पर्कमा रहेको उनले बताए।

 

प्रकाशित: २० चैत्र २०७६ १५:१४ बिहीबार

जुम्ला काेराेना