समाज

वडामा कोरोनाविरुद्ध नेकपाको सचेतनामुलक अभियान

खोटाङ – कोरोना भाइरस (कोभिड–१९)ले विश्वभर आतंक फैलाइरहेको छ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि विभिन्न ठाउँमा आ–आफ्नै किसिमले अभियान सञ्चालन भइरहेका छन्। कोरोनाको कारण ‘लकडाउन’ नै लागू गरिएको अवस्थामा यसबाट बच्न र बचाउनका लागि सचेतनामुलक अभियानलाई तिब्रता दिनुपर्ने अवस्था छ।

तर, गाउँ–गाउँमा कोरोनाबाट बच्ने उपायका बारेमा कमै मात्रामा सचेतनामुलक गतिविधि भइरहेका छन्। भोट माग्न हिँडे जस्तै यो बेला राजनैतिक दलका नेता तथा कार्यकर्ता अभियान लिएर गाउँ–गाउँमा पुग्नुपर्ने हो। तर, उनीहरुले विज्ञाप्ती जारी गर्नु सिवाय अन्य जनमुखी भूमीका देखाउन सकेका छैनन्। नागरिकमा सचेतना अभिवृद्धिका लागि अभियान छेड्नुपर्ने बेलामा खोटाङका कुनै पनि राजनैतिक दलले कोरोना रोकथाम तथा नियन्त्रण सम्वन्धी गतिविधि गर्न सकेका छैनन्। यही मेसोमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित नेकपाको वडा कमिटिले कोरोनाबाट बच्नका लागि सचेतनामुलक अभियान चलाएको छ।

नेकपाको वडा कमिटिले वडाका ५७३ घरमा पुगेर सावुन बितरण गर्दै कोरोनाको संक्रमणबाट बच्न सकिने उपायका बारेमा सर्वसाधारणलाई सचेत गराएको जनाएको छ। गाउँ–गाउँमा कोरोना भाइरसबाट बच्ने सावधानीका प्रचार–प्रसार कम देखिएकाले सावुन वितरण गदैै सचेतनामुलक अभियान चलाइएको नेकपा वडा कमिटिका अध्यक्ष बिरेन्द्र रायले बताए। सर्वसाधारणलाई संक्रमणबाट बच्नका लागि जानकारी गराउन साविकको ९ वडामा दुई जनादेखि तीन जनाको टोली साबुन सहित परिचालन गरिएको हो।

सर्वसाधारणलाई साबुन वितरण गर्दै कोरोनाबाट बच्नका लागि साबुन पानीले मिचिमिचि हात धुन, नाकमुख छोपेर खोक्न वा हाछ्यूँ गर्न, भीडभाडमा नजान, हात नमिलाउन, ज्वरो वा रुघाखोकी लागेका व्यक्तीबाट टाढा बस्न, मास्क प्रयोग गर्न लगायतका सावधानीका उपाय अपनाउन आग्रह गरिएको अध्यक्ष रायले बताए। ‘कोरोनाबाट बच्ने सावधानीका उपायलाई गाउँ–गाउँदेखि घर–घरमा पु¥याउनु नै महामारीबाट बच्ने उत्तम उपाय हो। यस बारेमा अभियान चलाउनु हामी सबैको दायित्व हो,’ अध्यक्ष रायले भने, ‘विशेषगरी सावधानीका अपनाउन, ज्वरो आएमा स्वास्थ्यचौकीमा वा प्रहरीलाई खबर गर्न, विदेशबाट आएका भए क्वारेन्टीनमा बस्न आग्रह गरिएको छ।


वडा कार्यालयमा बाल्टिन, जग र सावुन राखेर नेकपाले सचेतनामुलक अभियान सुरु गरेको जनाएको छ। सर्वसाधारणलाई ‘लकडाउन’को पालनाका लागि पनि आग्रह गरिएको रायले बताए। कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिले गाउँघरमा विदेश तथा शहर बजारबाट मान्छेको आउ–जाउ भइरहेकाले कोरोना भाइरसको संक्रमण फैलिने खतरा देखिएको भन्दै पालिकास्तरदेखि वडा–वडाका जनप्रतिनिधि तथा राजनैतिक दलका नेता तथा कार्यकर्ता सक्रिया हुनुपर्ने औंल्याएको थियो। 

प्रकाशित: २० चैत्र २०७६ १४:२५ बिहीबार

काेराेना_भाइरस सचेतनामुलक_अभियान