समाज

विदेशबाट फर्किएका १६ जना ‘सेल्फ क्वारेन्टाइन’ मा

रसुवा - रसुवाको कालिका गाउँपालिकाकी एक किशोरी दुबईबाट चैत ३ गते रसुवा आइन्। आएपछि उनी बजार घुम्ने तथा साथीहरू भेट्ने कार्यलाई निरन्तरता दिइन्। अहिलेसम्म उनलाई कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन। 

तर शनिबार एक्कासी उनको भाइलाई ज्वरो आयो। त्यसपछि परिवारका सबै जना आत्तिए। तर पछि उनको भाइको ज्वरो सामान्य भएपछि स्थिति सामान्य बन्यो। अहिले पनि उनी सेल्फ क्वारेन्टाइनै बसिरहेकी छिन्। 

अमेरिकाबाट आएकी एक जना महिलाले पनि केही दिन साथीहरू भेट्ने तथा घुम्ने कार्यलाई निरन्तरता दिइन्। पछि कोरोनाको त्रास बढ्न थालेपछि उनी सेल्फ क्वारेन्टाइनमा बसिन्। अहिलेसम्म पनि उनलाई कुनै समस्या देखिएको छैन। 

देश लकडाउन हुन्ुपूर्व भने विदेशबाट आएका व्यक्ति सेल्फ क्वारेन्टाइनमा नबसेर घुम्ने गरेका थिए। विदेशबाट आएका व्यक्ति संक्रमित भएको हुनसक्ने भन्दै स्थानीय सरकारसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालयले विदेशबाट आएका व्यक्तिको विवरण संकलन ग¥यो। 

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले विदेशबाट आएका सबै जना होम क्वारेन्टाइनमा बसिरहेका बताए। उनका अनुसार हालसम्म विदेशबाट आएका १६ जनाको विवरण प्राप्त भएको छ। ‘होम क्वारेन्टाइनमा बसेकाहरूको दैनिक निगरानी भइरहेको छ,’ उनले भने, ‘होम क्वारेन्टाइनमा बसिरहेकालाई क्वारेन्टाइनमा ल्याउनु उपयुक्त हुँदैन।’

विदेशबाट आएका तथा भारतसँग सीमा जोडिएका क्षेत्रबाट आएका व्यक्तिलाई भने निर्माण गरिएका क्वारेन्टाइमा राख्ने तयारी भएको छ। जिल्लामा २ सय ११ वटा शैयाको क्वारेन्टाइन र ५५ शैयाको आइसोलेसन निर्माण भएको छ। 

निर्माण गरिएका क्वारेन्टाइन तथा आइसोलेसनमा फ्रि वाइफाइको व्यवस्था गरिएको छ। निर्माण गरिएका क्वारेन्टाइनमा एक जना पनि राखिएको छैन।

प्रकाशित: १७ चैत्र २०७६ ०७:२५ सोमबार

सेल्फ_क्वारेन्टाइन काेराेना_भाइरस