समाज

असिनाले अन्न बालीमा क्षति, ११ सय नास्पातिका बोट नष्ट

फाइल तस्बिर : नागरिक

बाजुरा - असिना पानीले जिल्लाको तल्लो भेगका अधिकांश स्थानीय तहमा लगाएको अन्न बाली चुटेर नष्ट पारेको छ। करिब १ घण्टा बढी समयसम्म परेको असिना पानीले पाक्न लागेको गहुँ, पाकीसकेको जौ र तरकारी बालीलाई चुटेर नष्ट पारेको हो। जिल्लाको तल्लो क्षेत्रका स्थानीयले चैतको दोस्रो साताबाट गहुँ बाली भित्र्याउने गरेका छन्।

असिनाले बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिका सहीत छाम जिल्लामा समेत लाखौको अन्न बालीमा क्षति पुगेको छ। ठूला–ठुला दाना सहीत परेको असिनाले तरकारी र जौ बालीमा लाखौको क्षति पुर्याएको बुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष धर्मराज जोशीले बताएका छन्। हावा हुरीसँगै दिउँसो परेको असिना पानीले अन्न बाली र तरककारीमा क्षति पुर्याएको हो। साँझ ५ बजेपछि एकाएक मौसम बदली भई असिना पानी पर्नुका साथै हावा हुरी चलेको हो।  यसैगरी असिना पानीले बडिमालिका नगरपालिका–४ रिलामा अन्नबाली चुटेर नष्ट पारेको छ। करिब आधा घण्टा समयसम्म परेको असिना पानीले पाक्न लागेको गहुँ, पाकेको जौ र तरकारीलाई चुटेर नष्ट पारेको स्थानीय शंकर उखेडाले जानकारी दिएका छन्। 

गहुबाली उत्पादनका लागि भण्डारको रुपमा चिनिएको बुढीगंगा र त्रिवेणी नगरपालिकामा पाकीसकेका गहुँबालीमा असिनाले क्षति पुर्याएपछि किसानहरु चिन्तीत बनेका छन्। असिना यो सहीत दोस्रो पटक आएको हो। बीउ उत्पादनका लागि समेत लगाइएको गहुँ बालीमा क्षति पुगेको स्थानीयले बताएका छन्। यसैगरी बुढीगंगा नगरपालिका साविकको ब्रह्मतोला गाविस ५ र ६ वडामा पर्ने सेलापातल मलेवासैन सामुदायिक वनमा लगाइएका एक हजार एक सय नास्पातीका विरुवा असिना पानीले नष्ट पारेको सामुदायिक वनका अध्यक्ष बलबहादुर शाहले बताएका छन्।  सामुदायिक वनको लामागडा ब्लममा माघ महिनामा बुगंगा नगरपालिका कृषि शाखाको अनुदानमा उपभोक्ता समितिले लगाएको करिव १५ रोपनी जमिनमा लगाइएका नास्पाती असिना पानीले नष्ट पारेको अध्यक्ष शाहले जानकारी दिएका छन्।

नमुनाका रुपमा बनाउने गरी लगाइएका विरुवा एक घण्टा आएको असिना पानीले नष्ट पारेकाले लाखौको क्षती पुगेको अध्यक्ष शाहको भनाई रहेको छ। ९५ हेक्टर क्षेत्रफल भएको उक्त सामुदायिक वनमा विभिन्न प्रजातीका बोट विरुवा लगाइएका छन्। सोही नगरपालिका साविकको ५,६ र ७ वडाका स्थानीयले चलनभोग गर्दै आएका छन्।  वनमा सल्ला,उतिस,बाँझ, लगायतका विरुवारु लगाइएका छन्। संरक्षण र सम्वद्र्धन गर्दै आएकोे उक्त सामुदायिक वनले सहज र सस्तो मुल्यमा काठ दाउरा र घाँस विक्री गर्दै आइरहेको सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष रामप्रसाद उपाध्यायले बताएका छन्।

बुढीगंगा नगरपालिका कृषि शाखाका प्रमुख दीपक थापाले कृषि ज्ञान केन्द्रले नगरपालिका क्षेत्र भरी दुई हजार बोट वितरण गरेको बताए। उनले भने असिना पानीले पुर्याएको विरुवाको क्षतिको प्राविधिक सहित टोली पठाएर विस्तृत विवरण आएपछि आगामी वर्ष बोटहरुलाई कलमी गर्ने गरी निरन्तरता दिने कृषि शाखा प्रमुख थापाले बताएका छन्।

प्रकाशित: १७ चैत्र २०७६ ०७:१४ सोमबार

अन्न_बाली नष्ट असिनापानी