समाज

कोरोना त्रासः किसानलाई गहुँ भित्र्याउने चिन्ता

किसानको खेतमा काट्न तयारीमा अवस्थामा रहेको गहुँ बाली। तस्विरः योगेश रावल

टीकापुर - संसारभर कोरोना भाइरसको महामारी फैलिरहेको छ। यसबाट बच्न सरकारले लकडाउन गरेको छ। उसले दोस्रो पटक लकडाउनको समयावधि थपेको छ। विगत करिव एकसातादेखि कोही व्यक्ति पनि घरबाट बाहिर निस्किन पाएका छैनन्। 

किसान समेत लकडाउनका कारण घरभित्रै बस्न बाध्य छन्। उनीहरु लकडाउनको सबैभन्दा धेरै मारमा परेका छन्। यो उनीहरुका लागि निकै महत्वपूर्ण समय हो। यतिबेला किसानका खेतबारीमा गहुँ पाकिसकेको छ। यदि मुलुक लकडाउनमा नगएको भए अधिकांश किसान खेतबारीमा भेटिन्थे।

 खेतबारीमा गहुँ पाकेर भित्र्याउन तयारी अवस्थामा छ। तर किसान पाकेको गहुँ काट्न पाइरहेका छैनन्। यतिबेला समयमा गहुँ भित्र्याउन नसके समस्या हुने किसानको बुझाई छ।
 
कैलालीको दक्षिण पूर्वी क्षेत्र गहुँ खेतीका लागि निकै महत्वपूर्ण मानिन्छ। यहाँका अधिकांश किसान गहुँ खेती गर्दै आएका छन्। किसानको आधा भन्दा बढी गहुँ खेतीले भित्र्याउनु पर्ने समय गुजारिसकेको छ। अन्य गहुँ खेती समेत काट्ने अवस्थामा पुगेको छ।
   
टीकापुर नगरपालिका ८ का किसान धनसिँह साउँदले ३० विगाहमा गहुँ खेती गरेका छन। उनले गहुँ काट्न नपाएकोमा निकै समस्या भैरहेको बताए। उनका अनुसार समयमा गहुँ भित्र्याउन नसके खेतमै झर्ने सम्भावना छ।
 
उनी विगत केही वर्षदेखी मेसिनको प्रयोग गरेर खेतीपाती गर्दै आएका छन। यसवर्ष समेत उनले गहुँ खेती काट्नका लागि कम्पाइन मेसिन तयारी अवस्थामा राखेका छन। तर उनले कम्पाइन मेसिन चलाउनका लागि डिजल नपाएका कारण समस्या भैरहेको बताए।
 
‘कसैले पनि डिजल दिँदैन। सरकारले नै नदिन भनेको जवाफ दिन्छन’ उनले भने –‘डिजल नपाउँदा निकै समस्या भैरहेको छ।’ उनले ३० विगाह क्षेत्रफलमा लगाएको गहुँ मेसिन बाहेकले काट्न सम्भव नरहेको बताए। 
पछिल्लो समय धेरैजसो किसानले मेसिनबाटै गहुँ काट्ने गरेको पाइन्छ। उनले आफ्नो मात्रै नभई अन्य किसानको समेत गहुँ खेती कम्पाइन मेसिनबाट काट्ने गरेका छन।
 
लकडाउनका कारण घरबाहिर निस्किन नपाएका किसानहरुले मेसिनबाटै गहुँ काट्न सहज हुने बताउने गरेका छन। मेसिनले गहुँ काट्दा धेरै मानिसको भिडभाड समेत नहुने भएकाले यो भरपर्दो विकल्प हुने किसानको बुझाई छ। धेरै किसानले साउँदलाई जसरी भएपनि गहुँ काटि दिन आग्रह गर्ने गरेका छन्।
 
किसानलाई हातले गहुँ काट्न समस्या छ। एकातिर उनीहरु लकडाउनका कारण घरबाहिर निस्किन पाएका छैनन् भने अर्कोतिर गहुँ पाकिसकेकाले समय अभाव छ। 

‘यो बेलामा हातले काटेर सम्भव छैन ’ भजनी नगरपालिका ठेँकीका विक्रम चौधरीले भने –‘गहुँ काटेर नसक्दै पाकेर झरिसक्छ।’

किसानलाई मौषमको पनि डर छ। उनीहरु पाकेको गहुँ बाली वर्षाका कारण गुमाउनु पर्ने होकि भनेर समेत डराएका छन्। यो बेलामा पाकेको गहुँ भित्र्याउन नसके भविष्यमा भोकमरी पर्ने त्रास किसानमा रहेको छ। उनीहरु किसानको हितलाई ध्यानमा राखेर सरकारले कुनै न कुनै विकल्प दिने विश्वासमा छन।

प्रकाशित: १७ चैत्र २०७६ ०७:०७ सोमबार

काेराेना_भाइरस किसान गहुँ