समाज

ऐतिहासिक गढीमा राखिएको ढुंगाको तरबार तोडफोड

होलेसुङ र उनका दश भाई छोराको नाममा निर्माण गरिएको चौतारोमा राखिएको ढुंगे तरबार । तस्बिर : नागरिक

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थि ऐतिहासिक गढीमा राखिएको ढुंगाको तरबार तोडफोड भएको छ। हलेसी थुमका प्रथम शासक होलेसुङ र उनका दश भाई छोराको सम्झना र सम्मानमा निर्माण गरिएको सामूहिक चौतारो घरको छानामा राखिएको ढुंगाको तरबार भुईमा तीन टुक्रा पारिएको अवस्थामा फेला परेको छ। सामूहिक चौतारो बनाइएको तीन महिना नबित्दै त्यही राखिएको ढुंगाको तरबार भाँचिएको अवस्थामा फेला परेको स्थानीय बुद्धिजिवी भूपेन्द्रकुमार राईले बताए।

शुक्रबार घुमफिरमा गएका स्थानीयले ‘लकडाउन’को अवधिमा ढुंगाको तरबार भाँचिएको अवस्थामा भेटेको बताइएको छ। स्वदेश तथा विदेशमा रहेका २६ जना दाताबाट संकलन भएको ३ लाख ७० हजार ४ सय ५४ रुपैयाँमा निर्माण गरिएको साझा चौतारोको छानोमा धनुषबाण र ढुंगाको तरबार राखिएको थियो। सेतो रंगले रंगिएको तरबार आकारको ढुंगा तोडफोड भएको जानकारी आएपछि हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई लागायतको टोलीले निरीक्षण गरेका छन्।

करिब ३५० वर्ष पहिले राज्यसत्ता सञ्चालन गरेका राजा होलेसुङ तथा उनका छोराहरुको स्मृतिमा शुभेच्छुकको सहयोगमा निर्माण गरिएको सामूहिक चौतारो गत पुस ५ गते उद्घाटन गरिएको थियो। चौतारोमा होलेसुङका जेठा छोरा होम्दिमहोँछा, माइला मायाराजाहोँछा, साइला जितराजाहोँछा, काइला पुरिमहोँछा, ठाइँला बिराजाहोँछा, अन्तरे फ्लोमोहोँछा, जन्तरे मुङ्लोहोँछा, मन्तरे नाम्राहोँछा, लखन्तरे सैंदोहोँछा र कान्छा तातेसुङहोँछाको नाम उल्लेख छ।

 

प्रकाशित: १५ चैत्र २०७६ ०७:४४ शनिबार

ऐतिहासिक_गढी तरबार_तोडफोड