समाज

लकडाउनले  पूर्वाधारमा कार्यरत मजदुर प्रभावित

कास्की – भौतिक पूर्वाधारका विभिन्न आयोजनामा कार्यरत मजदुर ‘लकडाउन’बाट  प्रभावित भएका छन्। सरकारले कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्युनिकरण गर्न चैत ११ गतेदेखि देशभर लकडाउन गरेपछि विशेषगरी जिल्लाका विभिन्न आयोजनामा कार्यरत मजदुरलाई  खाद्यान्न आपूर्तिमा कठिनाइ  परेको बताइएको छ। 

अस्थायी रुपमा बसेका मजदुरसँग खाद्यान्न सकिएको र व्यवस्थापन गर्न माग भइ आएको नेपाल निर्माण व्यवसायी सङ्घ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए। जिल्लामा अहिले सबै आयोजनाको काम रोकिएको बताइन्छ। सङ्खुवासभाबाट यहाँ आइ सेती नदी नियन्त्रण आयोजनामा कार्यरत मजदुर विक्रम राइले अहिले काम पनि  बन्द भएको र  पसलमा खाद्यान्न समेत  नपाएको दुःखेसो व्यक्त गरे।  अस्थायीवास बनाएर बसेका आफूहरुलाई काम  पनि नभएको र कहिले खुल्छ भन्ने पनि एकिन नहुँदा घर फर्कन  नपाएको उनी बताउछन्। 

सङ्घले जिल्लाका विभिन्न आयोजनामा कार्यरत दश हजार हाराहारीको सङख्यामा मजदुर प्रभावित भएको जनाएको छ। उनीहरुलाई  वैकल्पिक व्यवस्था मिलाउन जिल्ला प्रशासनलाई माग गरेको सङ्घले जनाएको छ। दिनहुँ गुनासो आएकाले मजदूरलाई आ–आफ्नो स्थानमा पुर्‍याउने व्यवस्थाका लागि प्रशासनसँग अनुरोध गरिएको सङ्घका अध्यक्ष सुरेश श्रेष्ठले बताए। अहिले व्यवसायीको साइटमा खानेकुरा नहुँदा मजदुर भोकभोकै बस्नुपर्ने अवस्था आएको छ। खाद्यान्न पुर्‍याउन सकिने अवस्था छैन। गुनासो फोनमा सुन्ने बाहेक अरु विकल्प छैन। उनले भने, जिल्लामा सबै योजनाको काम अहिले पूर्ण बन्द भएको अवस्थामा मजदुर आआफ्नो घर जान चाहेकाले उनीहरुलाई सम्वन्धित स्थानमा पुर्‍याउनका लागि प्रशासनसँग अनुरोध गरेका छौँ।  

प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले मजदुलाई खाद्यान्न आपूर्तिका लागि प्रशासनले सहयोग गर्ने जानकारी दिए।  निर्माण व्यवसायी सङ्घसँग कुन आयोजनामा कति मजदुर प्रभावित भएको बारेमा एकिन तथ्याङ्क माग गरिएको उनले बताए। निर्माण व्यवसायीबाट मजदुरको बारेमा दैनिक गुनासा आएका छन्। हामीले त्यसको अहिल्यै केही योजना बनाएका छौँ। उनीहरुलाई सम्वन्धित ठाउँमा लैजानका लागि कति जना अप्ठ्यारोमा परेका छन् भनेर पहिला लिष्ट मागेका छौँ। प्रजिअ ढकालले भने। रासस

प्रकाशित: १३ चैत्र २०७६ ०६:३८ बिहीबार

भौतिक_पूर्वाधार मजदुर