समाज

श्रमिकहरूका लागि विशेष प्याकेजको घोषणा गर्न आग्रह

काठमाडौं- विभिन्न क्षेत्रमा सक्रिय अगुवाहरुले श्रमिकहरुका लागि विशेष प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेका छन्। यो अभूतपूर्व मानवीय संकटबाट पार पाउन राजनीतिक आरोप, प्रत्यारोपबाट माथि उठेर गर्नु पर्ने कामहरू प्रशस्तै भएको उनीहरुले बताएका छन्। 'हाम्रो सम्पूर्ण ध्यान रोगको नियन्त्रण कसरी गर्ने भन्नेमा केन्द्रीत भएको देखिन्छ, जुन जरूरी छ। तर दैनिक ज्यालादारीमा आफ्नो र परिवारको जीवन निर्वाह गर्ने न्यून आय भएकाहरूका लागि तुरून्तै विशेष प्याकेजको घोषणा गरोस् भनि हामी सरकारसँग जोडदार माग गर्दछौँ', उनीहरुले भनेका छन्।

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमण (कोभिड १९) नियन्त्रणका लागि नेपाल सरकारले हालैका दिनहरूमा देखाएको गम्भिर चासो र लिएका कदमहरू स्वागतयोग्य भएको उनीहरुको भनाइ छ।

'नेपालमा दिनदिनै कमाएर जीवन गुजारा गर्नु पर्नेहरूको संख्या ‍ठूलो छ। संक्रमण या बन्दाबन्दीको अवस्था लम्बिएको खण्डमा दैनिक ज्यालादारीमा गुजारा गर्नेहरूका लागि भयावहपूर्ण स्थिति सृजना हुन सक्छ। उनीहरूले रोगबाट बच्न खोज्दा भोक स्विकार्नु पर्ने वाध्यता नहोस्,' जारी विज्ञप्तिमा भनिएको छ।

तसर्थ, उनीहरूका लागि सरकारले तुरून्तै विशेष प्याकेज घोषणा गर्नु पर्ने अगुवाहरुको भनाई छ। 'त्यस्तो प्याकेजमा निशुल्क रासन, बेतनसहितको विदा, बालबच्चाको स्कूलमा फि मिनाह, निशुल्क उपचार आदि हुन सक्छ, जसलाई स्थानीय सरकारहरूमार्फत कार्यानवयन गर्न सकिन्छ', विज्ञप्तिमा भनिएको छ।

यो संकटको घढीबाट पार पाउन सकारात्मक सोचका साथ एक भएर अघि बढ्न सम्पूर्ण राजनीतिक नेतृत्व तथा आम सर्वसाधारणलाई समेत आग्रह गरेका छन्।

यसरी विज्ञप्ति जारी गर्नेमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की , प्रध्यापक केदारभक्त माथेमा, समाजवादी चिन्तक दुर्गा सुवेदी र साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र रहेका छन्।

 

प्रकाशित: १३ चैत्र २०७६ ०६:०५ बिहीबार

श्रमिक कोरोना_भाइरस राहत