समाज

क्वारेन्टाइनका लागि प्याब्सनले ६० विद्यालय उपलब्ध गराउने

सुर्खेत - निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि कर्णालीका ६० वटा विद्यालयलाई क्वारेन्टाइन बनाउन प्रस्ताव गरेको छ। प्याब्सनले सुर्खेतका २७, जाजरकोटका ३, सल्यानका ५, दैलेखका २, कालिकोटका ५, जुम्लाका ६, मुगुका २ र रुकुमपश्चिमका १० विद्यालयका एक सय ७० कक्षा कोठा क्वारेन्टाइनका रुपमा प्रयोग गर्न दिने जनाएको छ। प्याब्सन कर्णाली प्रददेशका अध्यक्ष नैनसिंह खत्रीले भौतिक पुर्वाधार सम्पन्न विद्यालयहरु छनोट गरेर क्वारेन्टाइनका लागि प्रयोग गरिने विद्यालय कक्षा कोठा र सम्पर्क व्यक्तिको नाम र नम्वर प्रदेश सरकारलाई उपलब्ध गराइएको जानकारी दिए।

‘विश्वभर तिब्र गतिमा फैलिरहेको कोरोना भाइरस रोकथामका लागि कोरोना भाइरसको रोकथामका लागि सरकारलाई आवश्यक परेको खण्डमा उपलब्ध गराउने गरेर प्याब्सन अन्तरर्गतका ६० वटा विद्यालय छनोट गरेका छौं,’ उनले भने, ‘विद्यालयको नाम प्रयोग गर्न सकिने कक्षा कोठा र सम्पर्क व्यक्तिको फोन नम्वरसहित सरकारलाई उपलब्ध गराएका छौं।’
 अध्यक्ष खत्रीले संस्थागत विद्यालयका तर्फबाट सरकारलाई आवश्यक सहयोग गर्न आफुहरु तयार भएको बताए।

प्रकाशित: १० चैत्र २०७६ १२:२४ सोमबार

क्वारेन्टाइन काेराेना_भाइरस