समाज

स्यानिटाइजर बनाउन सिकाउँदै नास्टका वैज्ञानिक

बनेपा, – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्रयोगशालामा व्यस्त रहने वरिष्ठ वैज्ञानिक डाक्टर सजनलाल श्याउलाको दिनचर्यामा यतिखेर नयाँ जिम्मेवारी थपिएको छ, त्यो हो प्रयोगशालाबाहिर रहेका समुदायलाई कोरोना भाइरस संक्रमणबाट बच्नका लागि ‘ह्यान्ड स्यानिटाइजर’ बनाउन सिकाउने।

त्यही भएर नै कार्यालय समयअघि र पछि अनि बिदाका दिनमा समेत उनी कुनै न कुनै समुदायमा भेटिन थालेका छन्। त्यहाँ उनको काम भनेकै बजारमा उपलब्ध सामग्रीहरूबाट स्यानिटाइजर बनाउन सिकाउने रहेको छ।

यसैबीच, पनौती नगरपालिका स्वास्थ्य शाखा र रोटरी क्लब अफ पनौतीको आग्रहमा शनिबार जन्मथलो पनौतीमा आएर श्याउलाले स्वास्थ्यकर्मी, शिक्षक र समुदायका अगुवालाई स्यानिटाइजर बनाउने तालिम दिए।

‘बजारमा विभिन्न खालका स्यानिटाइजरहरू पाइए पनि हामीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निर्धारण गरेका सामग्री र सूत्रमा आधारित रहेर स्थानीयस्तरमा स्यानिटाइजर बनाउन सिकाउने हो,’ श्याउला भन्छन्, ‘अहिले हामीले बनाइरहेको स्यानिटाइजर इथानोलमा आधारित हो।’

पछिल्लो समय घरेलु रक्सीबाट स्यानिटाइजर बनाउन सकिने चर्चा भइरहेको सन्दर्भमा उनले भने, ‘डब्लुएचओको मापदण्डअनुसार घरेलु रक्सीमा ८० प्रतिशत अल्कोहल भोलुम बाई भोलुमको मापनमा पुग्दैन। त्यसो भएकाले कि त घरेलु रक्सीलाई पुनः ‘डिस्टिलेसन’ गरेर तोकेको परिमाणमा पु-याउनुपर्छ। अन्यथा बजारमा पाइने फर्माकोपियलस्तरको इथानोल प्रयोग गरेर स्यानिटाइजर बनाउनुपर्छ,’ श्याउलाले भने।

नास्टको प्रयोगशालामा घरेलु रक्सीलाई डिस्टिलेसन गरेर थप रसायनहरू प्रयोग गरी स्यानिटाइजर बनाइए पनि प्रयोगशालाबाहिर बनाउँदा तोकिएको मापदण्डमा नबन्ने भएकाले घरेलु रक्सीको साटो इथानल प्रयोग गर्नुपर्ने उनको सुझाव छ।

उनी भन्छन्, ‘घरमा पारिएको रक्सीमा करिब ३६ प्रतिशत इथानोल मिसिएको हुन्छ। त्यो रक्सीलाई डिस्टिल गरी त्यसमा रहेको पानी निकालेर इथानोलको मात्रा ८० प्रतिशत भोलुम बाई भोलुम पु-याउन सकिन्छ। त्यो मात्रा अल्कोहल मिटरले मापन गर्न सकिन्छ।

यसरी निकालिएको अल्कोहलमा डब्लुएचओले निर्धारण गरेको मापदण्डअनुसार हाइड्रोजन परअक्साइड, ग्लिसिरोल र डिस्टिल वाटरको मिश्रणबाट स्यानिटाइजर बनाउन सकिन्छ,’ श्याउलाले भने। नास्टले तयार पारेका र तालिम दिएर उत्पादन हुने स्यानिटाइजरहरू डब्लुएचओको मापदण्डअनुसार हुने भएकाले बजारमा पाइनेझैं बास्ना, रङ र केमिकल नमिसाइने उनको भनाइ छ। ‘कुनै पनि स्यानिटाइजर हातमा दलिसकेपछि कम्तीमा ६ देखि सात सेकेन्डसम्म बसिरहेमा मात्रै किटाणुहरू मर्ने भएकाले। यत्ति अवधिसम्म टिकाइराख्नका लागि ग्लिसिरोल मिसाइएको हो,’ श्याउलाले भने, ‘अल्कोहलले सबै किटाणुहरू मार्ने भए पनि ‘स्पोर’ हटाउनका लागि हाइड्रोजन परअक्साइड मिश्रण गरिएको हो।’

पनौती नगरपालिकाको स्वास्थ्य शाखाले तालिम लिएका स्वास्थ्यकर्मीमार्फत नगरभित्रका दुई प्राथमिक स्वास्थ्य केन्द्रसहित सबै स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रहरूका लागि यही विधिबाट स्यानिटाइजर उत्पादन गर्ने लक्ष्य राखेको छ। शाखाले क्लिन सिटी प्रालिसँगको सहकार्यमा सबै स्वास्थ्य संस्थाहरूमा सर्जिकल डिस्पोजेबल मास्कहरू पु-याइसकेको छ।

सुन्थान प्राथमिक स्वास्थ्य केन्द्रकी नर्स लक्ष्मीदेवी आचार्यले तालिममा सहभागी भएर आवश्यकताअनुसार स्यानिटाइजर बनाउन सकिने भएकाले सेवा प्रदानमा सहजता हुने बताइन्।

प्रकाशित: १० चैत्र २०७६ ०२:१७ सोमबार

काेराेना_भाइरस स्यानिटाइजर नास्ट वैज्ञानिक