समाज

मास्क र स्यानिटाइजरमा कालोबजारी गर्ने चार पक्राउ

जनकपुरधाम- जनकपुरमा मास्क र स्यानिटाइजर कालोबजारी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषाबाट अनुगमनका लागि संयुक्त रुपमा खटिएको टोलीले औषधि पसलमा मास्क र स्यानिटाइजर हुँदाहुँदै छैन भन्ने र चर्को मूल्यमा बेचेको आरोपमा चारै जनालाई प्रहरीले पक्राउ गरेको हो।

जनकपुरधाम उपमहानगरपालिका–४ राममन्दिर पछाडीस्थित सुस्मिता मेडिकलबाट सर्लाहीको बरहथवा नगरपालिका–८ बस्ने संजय साह र सोही स्थानमा रहेको सम्पूर्ण मेडिकलबाट स्थानीय संजय साहलाई मास्क कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए।

यस्तै, स्यानिटाइजर कालोबजारी गरिरहेकै अवस्थमा भमरपुरा चोकस्थित अटल फार्मेसीबाट लक्ष्मीनिया गाउँपालिका–३ बस्ने अनिल यादव र महोत्तरीको जलेश्वर नगरपालिका–६ बस्ने प्रभन्स चौधरीलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक कार्कीले जनाए।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर थप अनुसन्धान भइरहेको उनको भनाइ छ। मास्क र स्यानिटाइजरको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको जिल्ला प्रशासन र प्रहरी कार्यालयमा गुनासो बढेपछि बजार अनुगमनलाई तीव्रता दिइएको छ।

 

प्रकाशित: ९ चैत्र २०७६ ०८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App