समाज

सरकारी कार्यालयमा कोरोना भाइरसविरुद्ध सेवा दिँदै गैसस

सर्लाही - कोरोना भाइरस अर्थात् कोभिड–१९ संक्रमणविरुद्ध जिल्लास्थित विभिन्न सरकारी कार्यालयमा गैरसरकारी संस्थाले सेवा दिन सुरु गरेका छन्। वाग्मती सेवा समाज नेपाल नामक संस्थाले जिल्ला प्रशासन कार्यालय मलंगवा परिसरमा कोरोना भाइरसविरुद्धको हेल्थ डेस्क सञ्चालन गरिरहेको छ।

गत मंगलबारदेखि सुरु हेल्थ डेस्कमा वाग्मतीका दुईजना स्वास्थ्यकर्मी खटिएका छन्। जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रमाण पत्र, राहदानी बनाउन तथा विभिन्न सिफारिस एवं मुद्दामामलाका लागि आउने सेवाग्राहीलाई हेल्थ डेस्कमा बसेका स्वास्थ्यकर्मीले इन्फ्रारेटेड थर्मोमिटरबाट तापक्रम नाप्ने र साबुनपानीले हात धुन एवं स्यानिटाइजर लगाउने गरेको वाग्मती सेवा समाज नेपालका कार्यकारी निर्देशक निरज भण्डारीले जानकारी दिए। ‘शुक्रबारसम्म सात सय १४ जना सेवाग्राहीलाई थर्मोमिटरले तापक्रम नाप्ने तथा विभिन्न सचेतनामूलक जानकारी गराउने काम भएको छ,’ भण्डारीले भने, ‘अहिले त सेवाग्राहीले आफै उत्साहित भएर हेल्थ डेस्कमा चेक गराउने गर्नुभएको छ।’

त्यस्तै शुक्रबारदेखि सदरमुकाम मलंगवास्थित मालपोत, नापी र भूमिसुधार कार्यालयमा दिगो विकास तथा सामुदायिक विकास संस्थाले हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ। दिगो विकासका स्वास्थ्यकर्मीले इन्फ्रारेटेड थर्मोमिटरबाट सेवाग्राहीको तापक्रम नाप्ने तथा सचेतनामूलक जानकारी गराउने गरेका छन्। तीनवटै कार्यालयमा छिर्ने एउटै मूलगेट बनाएर एक ठाउँमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ।

सरकारी जनशक्ति एवं स्रोतसाधन पर्याप्त नहुँदा गैरसरकारी संस्थासँगको साझेदारीमा कोरोना भाइरसविरुद्ध हेल्थ डेस्क सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए। ‘सरकारी जनशक्ति एवं स्रोतसाधन पर्याप्त नहुँदा विभिन्न गैरसरकारी संस्थासँगको समन्वयमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ,’ प्रजिअ जिसीले भने, ‘जिल्लास्थित सेवाग्राहीको अत्यन्त भिड हुने अन्य सरकारी कार्यालयमा पनि हेल्थ डेस्क सञ्चालनमा ल्याउन गैरसरकारी संस्थासँग छलफल भइरहेको छ।’

प्रकाशित: ९ चैत्र २०७६ ०४:४० आइतबार

सरकारी_कार्यालय कोरोना_भाइरस