समाज

सम्भावित संक्रमण, अन्योलपूर्ण तयारी

लहान - कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका बिरामीको उपचारका लागि प्रदेश २ मा पाँचवटा ‘हब’ अस्पताल छनोट गरेको जनाएको छ। यी हब अस्पतालहरूमा क्रिटिकल केयरसहितको एक सय ५० वटा आइसोलेसन वार्ड तयार गरिएको छ, गरिँदै छ।

प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झाका अनुसार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा १०, नारायणी अस्पताल वीरगन्जमा १०, धनुषाको रमदैयास्थित जानकी मेडिकल तथा शिक्षण अस्पतालमा ६०, जनकपुरकै सिटी अस्पतालमा २० र वीरगन्जको नेसनल मेडिकल कलेजमा ५० गरी एक सय ५० आइसोलेसन वार्ड तयारी भइरहेको छ। हब अस्पतालहरूमा कोरोना संक्रमित बिरामीका लागि भेन्टिलेटर, आइसियूसहितको क्रिटिकल केयर सेवा उपलब्ध हुने झाको भनाइ छ। स्याटेलाइट अस्पतालको रूपमा रहेका जिल्ला अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्क्रिनिङ र क्वारेन्टाइन प्रयोजनमा प्रयोग गर्ने तयारी भइरहेको पनि उनले बताए।

पाँचवटा हब अस्पतालमध्ये गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा आइसियू सेवा छैन। ‘आइसियू सेवाबिनाको १० वटा आइसोलेसन कक्ष तयारी गर्दैछौं,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दास भन्छन्,’ १० वटा आइसोलेसन कक्षमध्ये चारमा संयुक्त शौचालय पनि छैन।’ आइसियू आवश्यक पर्ने कोरोना संक्रमित बिरामीलाई बाहिर रेफर गर्ने तयारी गरेका छौं, उनले भने।

नारायणी अस्पताल वीरागन्जमा पाँचवटा आइसोलेसन बेड तयारी अवस्थामा छ। आइसियू सेवा सहितको यस आइसोलेसन वार्डमा कोरोना संक्रमित बिरामी राख्ने नराख्ने निर्णय निधो भै नसकेको अस्पतालका मेडिकल सुपरिडेनटेन्ट डाक्टर मदन उपाध्यायले बताए। यस अस्पतालमा भेन्टिलेटर सेवा छैन। ‘हामीसँग आइसियू भए पनि अन्य बिरामीलाई पनि राख्नुपर्ने हुनाले कोरोना संक्रमितलाई राख्न मिल्दैन,’ उनले भने।

प्रादेशिक अस्पताल जनकपुरमा पाँचवटा आइसियू कक्ष छ। यस अस्पतालले १० वटा आइसोलेसन कक्ष तयार गर्दैछ। तर कोरोना संक्रमितका लागि भनेर आइसियू कक्ष छैन। न भेन्टिलेटर सेवा छ। ‘कोरोना संक्रमितका लागि छुट्टै आइसियू कक्ष हुनुपर्छ, जुन हामीसँग छैन,’ अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डाक्टर नागेन्द्र यादव भन्छन्, ‘अन्य बिरामीलाई उपचारार्थ भर्ना गरिने आइसियू कक्षमा कोरोना संक्रमितलाई राख्न मिल्दैन।’

हब भनिएका अस्पतालहरूको यो पृष्ठभूमिले यहाँ संक्रमण फैलिए अवस्था के हुन्छ सहजै अनुमान लगाउन सकिन्छ। प्रदेश सरकारले अहिलेसम्म क्वारेन्टाइन पनि स्थापना गरिसकेको छैन। स्वास्थ्यकर्मीका लागि उपचार सामग्री तथा सुरक्षा उपकरणसमेत उपलब्ध छैन। कोरोना भाइरसको नियन्त्रण तथा उपचारमा प्रदेश सरकारको अन्योलनपूर्ण तयारीले जोखिम बढाएको स्वास्थ्यकर्मीहरू बताउँछन्।

खुला सीमा र सघन जनसंख्याका कारण प्रदेश २ कोरोना संक्रमणको उच्च जोखिममा छ। जोखिम उच्च भए पनि निन्त्रणकारी कार्य र उपचारको तयारी फितलो हुँदा नागरिकलाई चिन्तित बनाएको छ। ‘सीमानाकामा जाँचको अवस्था सन्तोषजनक छैन। जाँचदेखि उपचारसम्मको व्यवस्था फितलो हुँदा जोखिम बढ्दो छ,’ प्रदेशसभा सदस्य नरेश यादव भन्छन्, ‘मैले संसदमै सरकारको तयारीबारे जानकारी माग्दासमेत सरकार जवाफ नदिई चुप बस्यो।’

‘हल्ला धेरै गरिए पनि तयारी देखिँदैन। सीमामा गरिने जाँचदेखि उपचारसम्मको तयारी औपचारिकतामै सीमित छ,’ प्रदेशसभा सदस्य जगतप्रसाद यादव भन्छन्, ‘बन्द रहेको भौतिक संरचना वा कुनै अस्पताललाई नै पूर्ण रूपमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन गर्नुपर्छ। प्रदेश सरकार खुद्रा तयारीमा अल्झेर जोखिम बढाउँँदै छ।’

प्रादेशिक अस्पताल जनकपुरका प्रमुख डाक्टर यादवका अनुसार कोरोनाको संक्रमण रोक्न दुई उपाय छन्, सीमानाकामा कडा नियन्त्रण र पूर्ण रोक। ‘अहिले भइरहेको जस्तो नियन्त्रणले काम चल्नेवाला छैन,’ उनी भन्छन्, ‘पूर्ण रोक लगाइए जोखिम कम हुनेथियो।’

प्रादेशिक अस्पतालमा मात्र नभई यस प्रदेशको कुनै पनि अस्पतालमा सरुवा रोगका लागि अलग्गै वार्ड छैन। डाक्टर यादवका अनुसार संक्रमण फैलिए अहिलेको तयारीले पार लाग्दैन। चितवनमा अलग्गै आइसोलेसनसहितको अस्पताल तयार गरेजस्तो यस प्रदेशमा पनि गरिहाल्नुपर्छ। संक्रमण पर्खेर बस्नुभन्दा भरपर्दो उपचारको तयारीका लागि युद्धस्तरमा जुट्नु राम्रो हुन्छ।

यसैबीच, भारत तथा विदेशबाट आएका आँखाका बिरामीहरूको भिडभाड हुने सगरमाथा चौधरी आँखा अस्पताल लहानले अति आवश्यक उपचारका बिरामी बाहेकलाई कोरोनाको जोखिम कम भएपछि मात्र आउन अपिल गरेको छ।

प्रकाशित: ९ चैत्र २०७६ ०३:३८ आइतबार

कोभिड–१९ कोरोना_भाइरस