समाज

ब्याक डेस्कका कर्मचारीले घरबाटै काम गर्नेे

काठमाडाैँ  – नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न सक्ने भन्दै नेपाल बैंकर्स संघले नयाँ व्यवस्था लागू गर्न सदस्य बैंकरलाई ‘एड्भाइजरी’ जारी गरेको छ। बैंकमा कार्यरत उच्च तहका कर्मचारी कोरोना संक्रमित भए बैंक सञ्चालन गर्न समस्या हुनसक्ने भन्दै सावधानीका लागि एडभाइजरी जारी गरेको संघले जनाएको छ।

दिनप्रतिदिन सर्वसाधारणमा कोरोनाको त्रास बढ्दै गएपछि बिहीबार बसेको बैंकर्स संघको बैठकले ‘ब्याक अफिस’का कर्मचारीले घरबाटै काम गर्न सुझाएको हो। नयाँ व्यवस्था लागू भएपछि बैंकका उच्च तहका कर्मचारी र ब्याक अफिसमा कार्यरत कर्मचारी बाहेक ‘फ्रन्ट डेस्क’का कर्मचारीले नियमित अफिस आउनु पर्नेछ। तर, ग्राहकसँग समन्वय गर्ने फ्रन्ट डेक्सका कर्मचारीले अनिवार्य रुपमा मास्क तथा सेनिटाइजर प्रयोग गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

केही दिनअघि सरकारले २५ जनाभन्दा बढी भेला नहुने निर्देशन जारी गरिसकेको र हरेक बैंकमा सो भन्दा बढी कर्मचारी काम गर्ने भएकाले ब्याक डेस्कमा काम गर्ने कर्मचारीलाई घरबाटै काम गर्न सुझाएको हो। तर, ब्याक डेस्कमा काम गर्ने कर्मचारी कार्यालय नआई नहुने अवस्था भएमा फरक–फरक समयमा काम गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै सो बैठकले एक पटकमा २५ जनाभन्दा ग्राहकलाई भित्र पस्न अनुमति नदिने निर्णय गरेको छ। बैंक आउने हरेक ग्राहकलाई सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने बैठकले निर्णय जनाइएको छ। संघले गरेको निर्णयअनुसार एकै ठाँउमा काम गर्दा संक्रमित हुनसक्ने भएकाले प्रमुख कार्यकारी अधिकृत, डेपुटी सिइओ, व्यवस्थापनका अन्य उच्च कर्मचारी एउटै भवनमा बसेर काम गर्न नपाउने भएका हुन्।

प्रकाशित: ९ चैत्र २०७६ ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App