समाज

सीमा क्षेत्रमा ओहोरदोहोर नगर्न उद्योग वाणिज्य संघको आग्रह

भारतको सीमावर्ती बजार तिकुनीयाँ गैरहेका नेपाली । तस्विरः योगेश रावल

टीकापुर - नोवेल कोरोना भाइरस(कोविड–१९) भित्रिने त्रास बढेपछि सीमा नाका बन्द गर्नुपर्ने आवाज उठिरहेका बेला खक्रौला नाकामा भने ओहोरदोहोर गर्नेको संख्या झन बढेको छ । भारतीय सीमा बजार तिकुनीयाँमा दैनिक उपभोग्य लगायतका सामान किन्न जाने नेपालीको संख्या बढेको पाइएको हो ।

 नेपालतर्फ आउने भारतीय नागरिक र रोजगारीका क्रममा भारतमा रहेका घर फर्किने नेपालीहरुको संख्या समेत ह्वात्तै बढ्दै गएको छ । सीमा नाकामा अनियन्त्रित रुपमा मान्छेको ओहोरदोहोर बढेपछि कोरोना भाइरस भित्रिने त्रास बढ्न थालेको छ । भारतका विभिन्न शहरमा कोरोना भाइरसका बिरामी भेटिएपछि त्यसको असर नेपालका सीमावर्ती क्षेत्रमा परेको हो ।

सीमा क्षेत्रमा दुई देशका नागरिकलाई अनावश्यक ओहोरदोहोर नगर्न सचेतना फैलाउने उद्देश्यले नीजी क्षेत्रले पहल थालेको छ । टीकापुर उद्योग वाणिज्य संघले दैनिक उपभोग्य लगायतका सामान किन्न भारतीय सीमा बजार तिकुनीयाँ जाने नेपालीहरुलाई त्यहाँ नजान आग्रह गरेको छ ।

संघका अध्यक्ष रामबहादुर भण्डारी नेतृत्वको टोलीले शुक्रवार सीमा क्षेत्रमा भारततर्फ गैरहेका नेपालीहरुलाई नजान आग्रह गरेको हो । ‘सानो लापरवाहीले ठूलो दुर्घटना नहोस् भनेर भारततर्फ गैरहेकाहरुलाई रोक्ने प्रयास गरेका हौं’ अध्यक्ष भण्डारीले भने–‘राज्य एक्लैले केही गर्न सक्दैन । यस्तो बेलामा हामी सबैले रोकथामको प्रयास गर्नुपर्छ ।’

टोलीको आग्रहलाई समेत वेवास्ता गरेर केही व्यक्तिहरु तिकुनीयाँ जाने क्रम रोकिएको छैन । उनीहरुले दैनिक उपभोग्य लगायतका सामाग्री खरिद गर्न जान लागेको बताए । कोरोना भाइरसको त्राससँगै बजारमा दैनिक उपभोग्य सामाग्रीको अभाव हुने हल्ला चलेपछि किनमेलका लागि भारततर्फ जानेको संख्या झन बढेको पाइएको छ ।

टीकापुर उद्योग वाणिज्य संघका उपाध्यक्ष चक्रपाणी सापकोटाले यस्ता हल्लाका पछि नलाग्न आग्रह गरे । उनले राज्य नागरिकको समस्या प्रति जिम्मेवार ढंगले प्रस्तुत हुने विश्वास भएकाले हल्लाको पछि लागेर कुनै जोखिम बढाउने कार्य गर्न नहुने बताए । ‘राज्य छ । हामीलाई कुनै समस्या पर्दा उसले सघाउने छ’ उनले भने–‘हाम्रा तर्फबाट राज्यलाई नै गाह्रो पर्ने खालका कुनै काम नगरौं ।’

एकातिर सीमा क्षेत्रमा मान्छेको ओहोरदोहोर बढेको र अर्कोतिर कोरोना भाइरस रोकथामको प्रयास फितलो भएको प्रति आम मानिस सशंकित बनेका छन । उनीहरु राज्यले सीमा क्षेत्रमा कोरोना भाइरस नियन्त्रणका लागि भरपर्दो व्यवस्था नगरेको प्रति चिन्तित छन ।

स्वास्थ्यकर्मी नै जोखिममा
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा टीकापुर नगरपालिकाले स्थापना गरेको हेल्थ डेस्कको अवस्था आफै दयनीय छ । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरु नै कोरोना भाइरसको उच्च जोखिममा छन् ।

उनीहरुसँग भरपर्दो साधन स्रोतको अभाव छ । स्वास्थ्यकर्मीसँग पिपि सेट (स्वास्थ्यकर्मीले लगाउने लुगा), सेनेटाइजर, पञ्जा लगायतका सामान छैन । उनीहरुले लगाउँदै आएको मास्क समेत निम्न स्तरको छ । ‘यो पाँच घण्टासम्म मात्रै प्रयोग गर्न मिल्ने मास्क हो’ एक स्वास्थ्यकर्मीले भने–‘तर हामी पाँच दिनदेखी यही मास्क लगाउँदै आएका छौं ।’

एक स्वास्थ्यकर्मीले कोरोना भाइरस रोकथामका लागि सीमा क्षेत्रमा खटिएको जानकारी पाएपछि टोल समाजमा समेत शंकाको दृष्टीले हेर्न थालेको गुनासो गरे । उनले आफै असुरक्षित ढंगले काम गरिरहेकाले अरुलाई विश्वस्त पार्न गाह्रो भैरहेको दुःखेसो पोखे । ‘हामी आफै असुरक्षित छौं । यस्तो बेलामा अरुलाई कसरी विश्वास दिलाउन सक्छौं’ उनले भने–‘छरछिमेकीले हामीलाई नै कोरोना सार्ने जसरी हेर्न थालेका छन् ।’

हेल्थ डेस्कमा ४ जना स्वास्थ्यकर्मी कार्यरत छन । उनीहरु मध्ये २ जनालाई सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र २ जनालाई टीकापुर नगरपालिकाले खटाएको छ । उनीहरु मध्ये २ एच ए, १ अहेव र १ अनमी रहेका छन ।

सीमा क्षेत्रमा दैनिक करिव ३ हजारको हाराहारीमा मानिस ओहोरदोहोर गर्छन्। अहिलेसम्म कुनै व्यक्तिमा पनि कोरोना भाइरसको लक्षण नदेखिएको हेल्थ डेस्कमा कार्यरत अहेव मकेन्द्र रोकायाले जानकारी दिए। उनले भारतबाट आउने व्यक्तिको स्क्यानर गन मार्फत ज्वरो नाप्ने काम भैरहेको बताए।

प्रकाशित: ८ चैत्र २०७६ ०६:५१ शनिबार

सीमा_क्षेत्र ओहोरदोहोर उद्योग_वाणिज्य_संघ