समाज

सिन्धुका सात ठाउँमा आइसोलेसन बनाउन सुरू

सिन्धुपाल्चोक – कोरोना भाइरस संक्रमण फैलन सक्ने सम्भावित खतराप्रति उच्च सतर्कता अपनाउँदै सिन्धुपाल्चोकका सात स्थानमा आइसोलेसन वार्ड स्थापना गर्ने तयारी थालिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, गैरसरकारी संस्थालगायत सरोकारवाला निकायसँगको संयुक्त बैठकको छलफलपछि जिल्ला स्वास्थ्य कार्यालय आइसोलेसन वार्ड बनाउने तयारीमा जुटेको हो। वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे, जलवीरे र मेलम्चीसहित अन्य तीन स्थानमा आइसोलेसन वार्ड सञ्चालनमा ल्याउने बताए। ‘बाह्रबिसेमा एक शड्ढयाको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइसकिएको छ,’ उनले भने, ‘अन्यत्र केही दिनभित्रै सञ्चालनमा ल्याउँछौं।’

चौतारा साँगाचोकगढी नगरपालिकाको मेलचौर, त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली र पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनीमा पनि आइसोलेसन वार्ड सञ्चालनमा ल्याउने तयारी छ। ती स्थानमा भूकम्पपछि बनेका सामुदायिक भवन रहेकाले ठूलो क्षमतामा वार्ड सञ्चालनमा ल्याउन सकिने चापागाईंले बताए। उनका अनुसार यस्तो वार्डमा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरिनेछ।

भूकम्पमा भत्किएको चौतारा अस्पताल नबनेकाले यहाँ ठूलो क्षमताको आइसोलेसन वार्ड सञ्चालनमा ल्याउन सम्भव छैन। अल्पकालीन (सेमिपर्मानेन्ट) संरचनामा मुस्किलले चलिरहेको अस्पतालमा पर्याप्त स्थान छैन। जिल्लाका सबै स्वास्थ्य संस्थामा आवश्यक औषधि र उपकरणसहित स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको कार्यालयले जनाएको छ। स्वास्थ्य संस्था र बजारमा स्वास्थ्यकर्मीका सुरक्षा सामग्री र मास्कको भने अभाव रहेको उनले बताए।

स्वास्थ्यकर्मीको सुरक्षा सामग्री मगाएको जानकारी दिँदै उनले स्थानीय कपडाको मास्क बनाएर प्रयोग गर्न लगाउने नीति लिइएको छ। कोरोना भाइरसविरुद्धको प्रचार सामग्री निर्माण र वितरणमा जिल्लामा कार्यरत गैरसरकारी संस्थाले सघाउने प्रतिवद्धता जनाएको स्वास्थ्य कार्यालयले जनाएको छ। ‘स्थानीयस्तरमै समिति बनाएर सचेतना प्रचार गर्न गाउँ–नगरका स्वास्थ्य शाखा प्रमुखलाई जिम्मेवारी दिइएको छ,’ चापागाईंले भने। उनकाअनुसार विदेशबाट फर्केका व्यक्तिको पहिचान र तथ्यांक अद्यावधिक गरेर ‘क्यारेन्टाइन’ मा राख्न आवश्यक तयारीसमेत गरिएको छ।

प्रकाशित: ७ चैत्र २०७६ ०३:२१ शुक्रबार

कोरोना_भाइरस आइसोलेसन_वार्ड