समाज

थर्माेमिटरकै भरमा कोरोना परीक्षण

वीरेन्द्रनगर – काठमाडौंबाट सुर्खेत फर्किंदै गरेका एक युवकलाई उच्च ज्वरो देखियो। उनलाई तत्काल प्रादेशिक अस्पतालमा सञ्चालित आइसोलेसनमा राखियो र उनको खकार नमुना परीक्षणका लागि काठमाडौं पठाइयो। उनलाई कामको चापले बढेको तापले आइसोलेसनमा बस्न बाध्य बनायो। उनलाई ज्वरो नाप्ने आइआर थर्मोमिटर (गन) ले परीक्षण गरिएको थियो। उनलाई मात्र होइन, कर्णालीका हेल्थ डेस्कमा यही ज्वरो नाप्ने आइआर थर्मोमिटर (गन) ले कोरोना भाइरसबाट संक्रमत भएनभएको परीक्षण गरिन्छ।

अन्य प्रविधि नहुँदा यहाँ ज्वरो नाप्ने यन्त्रको भरमा कोरोना भाइरस संक्रमणको अवस्था चेकजाँच गर्नुपर्ने अवस्था छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै भनेका थिए, ‘कोरोना भाइरस परीक्षण गर्ने हामीसँग प्रविधि नै छैन।’ काठमाडौंमा भएको छलफलमा सबै प्रदेशले कोरोनाको परीक्षण प्रदेशस्तरमा गर्नुपर्ने माग राखेको उनको भनाइ छ। नेपालमा संक्रमित नभए पनि संक्रमणको जोखिम छ। भोलि संक्रमण फैलिए प्रविधि नहुँदा ठूलो समस्या हुने मुख्यमन्त्री शाहीले बताएका थिए। नमुना परीक्षणका लागि काठमाडौं पठाउने गरेको र यहाँ रिपोर्ट आउँदासम्म ढिला हुने स्वास्थ्यकर्मीको भनाइ छ।

१००.४ डिग्रीभन्दा माथि ज्वरो आउनेलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको स्वास्थ्य निर्देशनालयकी निर्देशक रीमा भण्डारी जोशीले बताइन्। ‘कोरोना संक्रमण हुँदा ज्वरो उच्च हुन्छ,’ उनले भनिन्। प्रविधि नहुँदा अहिले सर्वसाधारणको ज्वरोमात्र चेकजाँच भएको चिकित्सक केएन पौडेलले जनाए। ‘काठमाडौंबाहेक अरु जिल्लामा त्यस्तो प्रविधि छैन,’ उनले भने, ‘अहिले सामान्य भए पनि संक्रमण फैलिए समस्या हुन्छ।’ विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई जोखिमयुक्त भनेकाले सजगतासँगै प्रविधि पनि हुनुपर्ने देखिन्छ। संक्रमणले थिलोथिलो पारेको भन्दा पहिला नै परीक्षणका सामग्री हुन आवश्यक देखिन्छ।

अहिले मौसमी रुघाखोकी (मौसमी फ्लु) ले पनि अस्पतालमा बिरामीको चाप छ। कोरोना वा फ्लुका लक्षण छुट्याउने केही आधार भने रहेको चिकित्सक बताउँछन्। व्यक्तिमा फ्लुको संक्रमण भएको अवस्थामा सामान्यतः सुरुवाती लक्षणको रुपमा रुघा लाग्छ। संक्रमण कडा बन्दै गएको अवस्थामा श्वासप्रश्वासमा समस्या बढ्दै जाने चिकित्सक बताउँछन्। तर कोरोना भाइरसको संक्रमण भएको अवस्थामा सुरुमै श्वासप्रश्वासमा समस्या आउने, उच्च ज्वरो आउने त्यसपछि रुघाखोकी लाग्नसक्ने चिकित्सक बताउँछन्।

विशेष गरी भारतलगायतबाट आउनेलाई केही दिन क्वारेनटाइनमा राखेर मात्र घर जान दिनुपर्ने स्थानीयको भनाइ छ। विदेश भ्रमणमा गएबाट भारतमा कोरोना फैलिएकाले पनि नेपालमा पनि त्यस्तो हुन नदिन संक्रमित देशबाट आउनेलाई क्वारेनटाइनमा राख्नुपर्ने स्थानीयको भनाइ छ। यहाँ भएकालाई कोरोना नदेखिएको र बाहिरबाट यहाँ भित्रिनेहरूबाट कोरोना भित्रिन सक्ने उनीहरू बताउँछन्।

कोरोना रोक्न तयारी तीव्र
विश्वभरि फैलिएको कोभिड–१९ अर्थात् नोबेल कोराना भाइरस संक्रमणको जोखिम हटाउन पूर्वसजगतासम्बन्धी काम कर्णाली प्रदेश सरकारले तीव्र पारेको छ। प्रदेश सरकारले कर्णाली भित्रिने सीमावर्ती नाकामा हेल्थ डेस्क, प्रादेशिक अस्पतालमा आइसोलेसन र जिल्लामा आवश्यक पर्ने जनशक्ति तीन महिनाका लागि करारमा नियुक्त गरेको छ।

कर्णालीका १० जिल्लामा ३६ वटा हेल्थ डेस्क स्थापना भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। आवश्यक परे अन्य क्षेत्रमा पनि हेल्थ डेस्क सञ्चालन गर्न सकिने निर्देशनालयको भनाइ छ। मुगुमा नौ, रुकुम पश्चिममा आठ, सल्यानमा एक, डोल्पामा दुई, जुम्लामा पाँच, जाजरकोटमा एक, सुर्खेतमा तीन र दैलेखमा दुईवटा हेल्थ डेस्क स्थापना गरिएको छ भने जिल्ला अस्पतालमा एउटा हेल्थ डेस्क स्थापना भएको छ। यस्तै हुम्लामा पाँच र सुर्खेत विमानस्थलमा एउटा हेल्थ डेस्क स्थापना गरिएको छ। ३२ जना हेल्थ असिस्टेन्ट (एचए) करारमा नियुक्त गरेको र मास्क ल्याउने तयारी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: ७ चैत्र २०७६ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App