समाज

रोल्पामा बेपत्ता आयोगले ९३ पीडितसँग बयान लियो

बयानका लागि आएका बेपत्ता व्यक्तिका परिवार । तस्बिर: दिनेश/नागरिक

रोल्पा- संक्रमणकालीन न्याय टुङग्याउने भन्दै ढिलो गरि गठन गरिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले २०७३ सालमा लिएको उजुरीको छानबिन रोल्पाबाट सुरु गरेको छ। बिभिन्न माध्यमबाट आयोगमा परेका १ सय ३२ उजुरीमध्ये अहिले आयोगसँग ९८ उजुरी रहेका छन्। भर्खरै गठन भएको उक्त आयोगको ५ सदस्यीय टोली दुई दर्जन कर्मचारीसहित ९८ वटा उजुरी बोकेर सत्य अन्बेषण गर्ने भन्दै फाल्गुन ३० गते रोल्पा आएको थियो।

आयोगका अध्यक्षसहित रोल्पा आएको टोलीले ४ समूह बनाई उजुरीकर्तासँग अलग अलग बयान लिएको बताएको छ। आयोगसँग रहेको ९८ उजुरीमध्ये ९३ जना उजुरीकर्तासँग पहिलो चरणको बयान लिने काम सकिएको हो। ‘पाँच जना उजुरीकर्ता सम्पर्कमा आउनु भएन बाँकी ९३ जनाको पहिलो चरणमा बयान लिएका छौ।’ आयोगका सदस्य डा. गंगाधर अधिकारीले भने ‘सात वटा नयाँ उजुरी परेको छ भने ३ जनाले सत्यनिरुपणमा पठाइएको उजुरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले छानबिन गरोस भन्दै निबेदन दिनु भएको छ।’

आयोगका अध्यक्ष युवराज सुवेदीका अनुसार बेपत्ता छानबिन आयोगमा रोल्पाबाट १ सय ३२ उजुरी परेको थियो। जसमध्ये ३२ वटा उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोग पठाइएको थियो। पछि फेरी सत्यनिरुपण तथा मेलमिलाप आयोगले ३ वटा बेपत्ता आयोग मै फिर्ता पठाएको थियो। सुवेदीका अनुसार अहिले ५ वटा उजुरी तामेलीमा छ भने ९८ वटा मात्र उजुरी बेपत्ता आयोगसँग छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरी सत्यनिरुपण आयोगमा कसरी पुग्यो भन्ने बारेमा आयोगको नवगठित टोलीलाई पनि प्रयाप्त जानकारी छैन। ‘उजुरीकर्तालाई जानकारी नगराएर फाईल अर्को आयोगमा नपठाउनु पर्ने हो। यो विषयमा हामि गहिरो सँग बुझ्छौ।’ आयोगका सदस्य डा. गंगाधर अधिकारीले अन्याय हुन नदिने बताए।

 

प्रकाशित: ५ चैत्र २०७६ ०७:१८ बुधबार

द्वन्द्वको_घाउ