समाज

सुरक्षाको माग गर्दैै पेन डाउन

भैरहवा – भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी र डाक्टरले सुरक्षाको माग गर्दै पेन डाउन गरेका छन्। स्टुडेन्ट वेलफेयर कमिटीले सोमबार डाक्टरमाथि भएको आक्रमणलाई लिएर काममा सुरक्षाको ग्यारेन्टी र दोषीलाई कारबाही नभएसम्म कुनै पनि काम नगरी पेन डाउन गरेका हुन्। उनीहरूले स्वास्थ्य सेवा दिइरहेका डाक्टरलाई कार्यकक्षमै निर्घात कुटपिट हुनु मानवीय व्यवहार नभएको भन्दै डराइडराई काम गर्ने माहोल भएसम्म काम नगरी कालोपट्टी बाँधेर विरोध जनाएकोे बताएका छन्।

उपचाररत बिरामीको मृत्यु भएको भन्दै चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै अस्पतालमा कार्यरत डाक्टर र इन्टर्नसिपका विद्यार्थीले मंगलबार हातमा कालोपट्टी बाँधी अस्पतालअगाडि धर्ना दिएका छन्। उनीहरूले आइसियूमै पुगेर घाइते हुने गरी डाक्टरमाथि आक्रमण गर्ने व्यक्ति प्रहरी प्रशासनले पहिचान हुँदा पनि कारबाही नगरेकाले काममा सुरक्षाको प्रत्याभूति नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताए।

शुक्रबारदेखि नवलपरासी बर्दघाटकी ५० वर्षीया यमकुमारी बुढामगरको उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको थियो। मस्तिष्कमा रगत जमेकाले स्थिति गम्भीर रहेको अवस्थामा आइसियू कक्षमा राखेर बुढामगरको उपचार भइरहेको थियो। सोही क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालले बिरामीको उपचारमा लापरबाही गरेको भन्दै डाक्टरमाथि कुटपिट गरेका थिए। आइसियूमै तैनाथ सर्जन डाक्टर अर्चन घिमिरेमाथि आफन्त आवेशमा आई हातपात गरेका थिए। कुटपिटबाट घाइते डाक्टरको आकस्मिक कक्षमा उपचारपछि मंगलबार आइसियूमा उपचार भइरहेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए।

घटनाको नेपाल मेडिकल एसोसिएसनले पनि ऐक्यबद्धता जनाएको छ। नेपाल चिकित्सक संघको लुम्बिनी अञ्चल शाखाले विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि कुटपिट गर्ने समूहलाई पक्राउ गरी कारबाही गर्न ४८ घन्टे अल्टिमेटम दिएको छ। संघका महासचिव डा. सन्तोष पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा ४८ घण्टासम्म पनि कुटपिटमा संलग्नलाई कारबाही नगरिए संघर्षका थप कार्यक्रम गर्न बाध्य हुने बताएका छन्।

प्रकाशित: ५ चैत्र २०७६ ०२:३१ बुधबार

सुरक्षा पेन_डाउन विद्यार्थी