समाज

आमाछोरीको मृत्युपछि पनौतीबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

बनेपा- काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा आज बिहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा ( कर्फ्यू ) आदेश जारी गरेको छ।

पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर र दक्षिण बेथानचोक जाने बाटोको एक किलोमिटरसम्म कर्फ्यू आदेश जारी भएको कार्यालयले जनाएको छ।

सोमबारको घटनालाई लिएर आज पनि परिस्थिति असहज बन्दै गएपछि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए। 'परिस्थिति हिजोका घटनाले आज पनि भड्किन सक्ने अवस्था देखेपछि बिहान ९ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यू आदेश जारी गरेका छौँ', उनले भने।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती बसपार्कमा सोमबार अपराह्न टिपरले ठक्कर दिँदा पैदलयात्री तीन वर्षिया छोरीसहित आमाको मृत्यु भएको थियो।

प्रकाशित: ४ चैत्र २०७६ ०७:४६ मंगलबार

आमाछोरी पनौतीबजार कर्फ्यू