समाज

कोरोनाको सामना गर्न तयार रहेको चिकित्सक संघको भनाइ

काठमाडौं – नेपाल चिकित्सक संघले कोरोना भाइरस (कोभिड—१९) को सामना गर्न सरकारलाई जुनसुकै अवस्थामा पनि सहयोग गर्न तयार रहेको जनाएको छ।

कोरोना संक्रमण फैलिन नदिन र जोखिम न्यूनिकरणका लागि अस्पतालहरूको पहिचान गरी न्यूनतम पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्था गर्न आग्रह गर्दै संघले सहयोगका लागि तयार रहेको जनाएको हो। संघले उपचारका लागि तोकिएका अस्पतालहरूमा रहेका अन्य विरामीहरूलाई अन्य अस्पतालमा स्थानान्तरण गर्ने वातावरण मिलाउन पनि आग्रह समेत गरेकोछ।

संघका अध्यक्ष लोचन कार्कीले विश्व स्वास्थ्य संगठनको चेतावनी र छिमेकी मुलुकहरूमा देखिएको अवस्थालाई मधयनजर गर्दै सरकारको  पूर्वतयारी कमजोर देखिएकाले ध्यानाकर्षण गरिएको बताए। चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई आवश्यक तालिम दिनुपर्ने अवश्यकता भएपनि त्यो हुन नसकेको र पेशागत संघसंस्थाहरूसँग सहकार्यका लागि पनि सरकार तयार नभएको उनले दाबी गरे।

आवश्यक तयारी गर्न तथा सुरक्षित र सर्तकता रहन आग्रह गर्दै संघले चिकित्सकहरूलाई सहज रूपमा काम गर्ने व्यवस्था मिलाउन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार प्रशिक्षण, बीमा र प्रोत्साहनको व्यवस्था गर्नुपर्ने विज्ञप्ती उल्लेख गरेको छ।

सम्भाव्य जोखिम न्युनिकरण तथा ल्याब टेष्टको दायरा बढाउन आवश्यक औषधी, उपकरण र जनशक्तिको व्यवस्था गर्न संघले सरकारसँग आग्रह गरेको छ। विमानस्थल र सीमा नाकामा हुने चेकजाँचलाई प्रभावकारी र व्यवस्थित बनाएर नेपाल प्रवेश गर्ने व्यक्तिहरुको निगरानी राख्ने र थप चेकजाँच तथा उपचारको प्रबन्ध गर्नुपर्ने संघले बताएको छ।

प्रकाशित: ३ चैत्र २०७६ १३:१४ सोमबार

कोभिड—१९ चिकित्सक_संघ