समाज

साढे ८ लाख थान मास्कसहित दुई व्यापारी पक्राउ

काठमाण्डौ - १ सय ७७ बोरा मास्कसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो। चन्द्रागिरि नगरपालिका १० विष्णुदेवीस्थित एक घर गोदाम प्रयोजनको लागि भाडामा लिई आर डि जि ईन्टरनेसनल कम्पनीले काला बजारीको लागि स्टोर गरिराखेको मास्कसहित उनीहरु पक्राउ गरिएकाे हाे।

पक्राउ पर्नेमा कम्पनीका संचालक काठमाण्डौ महानगरपालिका-२३ बस्ने ३४ वर्षीय सुरज गोयल र भारत राजस्थान घर बताउने वर्ष ३७ का सुवास महेश्वरी छन्। जिल्ला प्रशासन कार्यालयका काठमाण्डौका प्रतिनिधि प्रशासकीय अधिकृत खड्ग बहादुर श्रेष्ठ, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम श्रेष्ठलगायतकाे रोहवरमा उक्त परिमाणको मास्क गोदामबाट बरामद गरिएको हो।

  बरामद मास्क कुल ८ लाख ४९ हजार ६ सय वटा रहेको प्रहरीले जनाएको छ। बरामद मास्क तथा पक्राउ परेका व्यक्तिहरू उपर कालाबजारी तथा सामाजिक हित विरूद्दको अपराध २०३२ अन्तर्गत अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ।

प्रकाशित: ३ चैत्र २०७६ १०:२२ सोमबार

मास्क काेराेना_भाइरस काेविड-१९