समाज

‘जिरो प्रोजेक्ट अवार्ड’ सम नेपाललाई

काठमाडौं – ‘जिरो प्रोजेक्ट कन्फेरेन्स २०२०’ यस वर्ष शिक्षाको क्षेत्रमा काम गर्दै आएको सम नेपाललाई प्रदान गरिएको छ। अष्ट्रियाको भियनामा अवस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा अयोजित कार्यक्रममा समावेशी शिक्षामा गरेको नविनतम अभ्यासका लागि उक्त अवार्ड सम नेपालका अध्यक्ष सुरेश काफ्लेलाई प्रदान गरिएको थियो।

समावेशी शिक्षाको विधामा ५६ राष्ट्रका ७५ वटा सृजनात्मक अभ्यासहरू र ११ वटा सृजनात्मक नीतिहरू मनोनयन गरिएका प्रस्तावहरूमध्येबाट सम नेपाल छनोटमा परेको आयोजकको भनाइ छ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सृजनात्मक समावेशी शिक्षा नीति ‘नेपाल समावेशी शिक्षा नीति २०१६’का लागि यो पुरस्कार प्रदान गरिएको छ। सम नेपालले विगत तीन वर्षदेखि विद्यालय शिक्षाबाट बञ्चि भएका बालबालिकाहरू, विशेष गरेर अपांगता भएका बालबालिकालाई विद्यालयमा भर्ना एवं समावेशी शिक्षाका लागि सहज वातावरण बनाउने तथा यसको प्रवद्र्धन गर्ने काम गर्दै आएको छ।

उसले विभिन्न संघसंस्था, विद्यालय, अभिभावक र समुदायसँग सहकार्य गरेर तालिम तथा बालबालिकाहरूलाई पठनपाठन र पुनःस्थापनमा आवश्यक सहयोगी सामग्रीहरू प्रदान गर्दै आएको बताइएको छ। सम नेपालले समावेशी शिक्षालाई मुख्य आधार बनाएर ‘खुड्किलो’ कार्यक्रममार्फत ललितपुर, भक्तपुर, बाँके, र सिन्धुपाल्चोक जिल्लामा काम गर्दै आएको छ।

प्रकाशित: ३ चैत्र २०७६ ०३:२२ सोमबार

प्रोजेक्ट_अवार्ड शिक्षाको_क्षेत्र