समाज

मुस्ताङमा तीन फिटसम्म हिउँ जम्यो(फोटोफिचर)

हिमाली जिल्ला मुस्ताङमा परेको हिउँ । तस्बिरःनागरिक

पोखरा- जाडोयाम सकिने बेलामा हिमाली जिल्ला मुस्ताङमा बाक्लो हिमपात भएको छ। हिमपातले जनजीवन प्रभावित भएको स्थानीय प्रशासनले बताएको छ। बाक्लो हिमपातपछि यातायात, विद्युत र सञ्चारसेवा समेत प्रभावित भएको प्रशासनको भनाई छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार शनिबार बेलुकीदेखि हिमपात सुरु भएकोमा आइतबार बिहान मात्र रोकिएको थियो। रातभर हिउँ पर्दा मुस्ताङ सदरमुकाम जोमसोम र आसपाससहित माथिल्लो भेगमा बाक्लो हिउँ जमेको थियो। २०६७ पछि यतिबेला जोमसोममा यो आकारमा हिमपात भएको उनले बताए।

प्रजिअ अर्यालका अनुसार सदरमुकाम जोमसोममा डेढ र अन्यत्र तीन फिट बाक्लो हिउँ जमेको थियो। बाक्लो हिउँले गर्दा सडक र हवाई यातायात पूरै अवरुद्ध भएको उनले बताए। सदरमुकाम जोमसोम क्षेत्रभन्दा तलको भागमा भने मध्यान्हपछि यातायात सुचारु भएको उनले बताए।

आइतबार बिहानैदेखि ढलेका विद्युतका पोल ठड्याउने काम भईरहेको छ। जतिसक्दो छिटो विद्युत आपूर्ति गर्ने प्रयास उनले बताए। विमानस्थलको धावनमार्गमा हिउँ जमेकोले आइतबार हवाई सेवा समेत अवरुद्ध भएको उनले बताए। धावनमार्गको हिउँ पनि सुरक्षाकर्मी खटाएर हटाउने तयारी भएको उनले बताए। त्यसबाहेक हिउँ पग्लदा चिप्लो र हिलो भएर मोटर गुड्न समेत समस्या परेको उनले बताए। आइतबार घाम लागेकोले दिउँसो भने सञ्चारसेवा केहीबेर सञ्चालनमा आएको थियो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का जोमसोमस्थित संरक्षण अधिकृत तुलसी दाहालका अनुसार शनिबार रातिको हिमपात यो सिजनको पाँचौ पटक हो। उपल्लो मुस्ताङ क्षेत्रमा अझै बाक्लो हिमपात भएको उनले बताए। तीव्र गतिमा चलेको हावा र हिउँले बिजुलीका पोल ढलेको पनि उनले बताए। ‘हिमपात र हावाहुरीले आउजाउ ठप्प छ। इन्टरनेट र फोन सेवा समेत नियमित छैन,’ उनले भने, ‘चर्काे हावा र हिमपातले गर्दा विद्युतका पोल ढलेका हुन्। यो बेला पर्यटक पनि छैनन्।’ सदरमुकाम जोमसोम भन्दा तल्लो भेगमा सवारी सञ्चालन हुने अवस्था रहेपनि माथिल्लो भागमा भने हिउँ नपग्लिसम्म आउजाउ सम्भव नरहेको उनले बताए। ‘कोरोना भाइरसको त्रासका कारण यो बेला विदेशी पर्यटक आएका छैनन्। बाक्लो हिमपात भएकोले थोराङला भञ्ज्याङ पार नगर्न पनि पर्यटकलाई सुझाव दिएका छौ,’ उनले भने, ‘लोमान्थाङ क्षेत्रमा भने अधिक नै हिमपात भएको छ। माथिल्लो भेगमा तत्काल आउजाउ गर्न पनि कठिनाई छ।’

लो घेकर दामोदरकुण्ड गाउँपालिकाका प्रशासकीय अधिकृत मनोहर ढुंगानाले रातभर हिउँ पर्दा बिहान आसपासका डाडाँकाँडा सेताम्य भएको बताए। हिउँ परेपछि किसान खुसी भएको उनले बताए। जाडो छल्न पोखरा, काठमाडौं लगायतका सहर झरेका माथिल्लो भेगका बासिन्दा यो बेला गाउँ फर्किन क्रममा रहेको र हिमपातले उनीहरुको आउजाउमा भने कठिनाई ल्याएको ढुंगानाले बताए। यसअघि माथिल्लो भेगमा जमेको हिउँ पन्छाएर गाडी तलाउने तयारी भएपनि फेरि हिमपात थपिँदा झनै समस्या परेको उनले बताए।

जाडो छलेर गाउँ फर्केका स्थानीयबासिले यतिबेला खेती लगाउँछन्। यो बेला हिमाली जिल्लामा बाली लगाउने समय भएको उनले बताए। ढुंगानाका अनुसार यतिबेला हिमाली जिल्लामा आलु, फापर, गहुँ रोप्ने समय हो। अहिले रोपेको बाली असोजमा भिञ्याउने गरि तयार हुन्छ। बाली भित्रयाएपछि गाउँलेहरु जाडो छल्न तल (पोखरा, काठमाडौं) झर्छन्।

 

हिमाली जिल्ला मुस्ताङमा परेको हिउँ । तस्बिरःनागरिक
हिमाली जिल्ला मुस्ताङमा परेको हिउँ । तस्बिरःनागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App