समाज

विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १७ पुग्यो, दुई दर्जन बढी अस्पताल भर्ना

जनकपुधाम - धनुषामा विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ। जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका १ र २ रमदैयामा घरेलु मदिरा सेवनबाट १३ जनाको र जनकपुरधाम उपमहानगरपालिका—७ मुसहरी टोलका ४ जनाको मृत्यु भएको हो।

मदिरा सेवनबाट सिकिस्त रमदैयाका ६ जना र जनकपुरका २२ जनाको उपचार भइरहेको छ। विषाक्त घरेलु मदिरा सेवनबाट रमदैयाका वर्ष ४७ का शत्रुधन मण्डल, वर्ष ५५ का श्रीदेव यादव, वर्ष २५ का इन्द्रजित महरा, वर्ष ३५ का ब्रहमदेव यादव, वर्ष ४० का राम बिलास मण्डल, वर्ष ६५ का गुदरी महरा, वर्ष ३६ का राम नारायण महरा, वर्ष ३० का राजु महरा, वर्ष ४७ का शत्रुधन मण्डल र रामप्रसाद यादवको मृत्यु भएको पुष्टि गरेको छ।

तर स्थानीयका अनुसार मदिरा सेवनबाटै विजय सदा, रासमती सदा, झुरुक सदा र रंजित यादवको मृत्यु भएको हो। तर यी चारजनाको अन्तिम संस्कारभइसकेपछि मात्र मृत्यु भएको प्रहरीमा जानकारी नआएकाले मदिरा सेवनबाटै यीनीहरुको मृत्यु भएको भन्न नसकिने धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए।

उनका अनुसार घरेलु मदिरा सेवनबाट सिकिस्त परेका वडा नं. १ रमदैया बस्ने वर्ष ३७ का  राम ईश्वर महरा, वडा नं. २ का वर्ष २३ का प्रदिप सदा, वर्ष ५० का भरत मण्डल, वर्ष ४४ का मनिर नदाफ, वर्ष २२ का भरत सदा, र बर्ष ५० का सिताराम यादवको उपचार भइरहेको छ।

यस्तै घरेलु मदिरा सेवन गर्दै आएका ४ जनाको मृत्यु भएपछि जनकपुरधाम उपमहानगरपालिका—७ स्थित मुसहरी टोलमा त्रास फैलिएको छ। गत विहीवारदेखि आइतवार विहानसम्म घरेलु मदिरा सेवन गर्दै आएका चारैजनाको मृत्युपछि घरेलु मदिरा सेवन गरेका टोलका करिब दुई दर्जन व्यक्ति आइतवार विहान प्रादेशिक अस्प्ताल जनकपुरमामा उपचारका लागि भर्ना भएका हुन्। उनीहरुको अवस्था समान्य रहे पनि त्रासले उपचारका लागि आएको अस्पतालका मेडिकल सुप्रिन्टेन्डेन्ट डा. नागेन्द्र यादवले बताए। ‘सबैको अवस्था समान्य छ तर डराएर यीनीहरुको जिउ कामेको छ। जाँच गरेर उपचार पश्चात सबैलाई घर पठाइदिन्छौँ। आतिपर्ने अवस्था छैन्,’ उनले भने।

मुसहर समुदयाका कुल देउता भुँइया महराज रिसाएको भन्दै भूत प्रेत खेल्न र पुजापठ शुरु गरेपछि वडाध्यक्ष जानकीराम साहको आग्रहमा उनीहरु अस्पताल भर्ना भएका हुन्। मुसहरी टोलमा गएको बिहीवारदेखि आइतवार बिहानसम्म मिथिला सदा, वनारशी देवी सदा झगरु सदा र जितेन्द्र सदाको मृत्यु भएको छ।

मृतक मिथिला सदाका परिवारजनका अनुसार पहिलेदेखि नै बिरामी परेका उनी ज्वरोपछि समेत मदिरा सेवन गरेका थिए। मदिरा सेवन गरेकी बनारसी देवी सदालाई वाकवाकी लागेको र पछि पेट दुख्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरिक्षक अशोक झाले बताए। उनका अनुसार मदिरा सेवन गरेका झगरुको झाडापखाला लागेपछि मृत्यु भएको हो भने आइतवार विहान मृत्यु भएका जितेन्द्रलाई चिकित्सकले समान्य उपचारपछि केही नभएको भन्दै फर्काएका थिए। मृतकमध्ये तीनजनाको समाजिक परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ भने जितेन्द्रको शव पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ।

पोष्टमार्टम रिपोर्टपछि उनीहरुको समेत विषाक्त मदिरा सेवनबाट वा अन्य कारणले मृत्यु भएको भन्न सकिने प्रहरी निरिक्षक झाले बताए। यसअघि जनकपुर सहित जिल्ला अन्य स्थानमा मृत्यु भएका करिब ९ जनाको मृत्युको कारण मदिरा सेवन नरहेको भन्दै जिल्ला प्रहारी कार्यालयले विज्ञप्त नै जारी गरेको थियो। तर मर्नेक्रम नरोकिएपछि प्रहरीले समेत यी घटनामा चासो देखाएका छन्।

यस्तै धनुषाका क्षिरेश्वरनाथ नगरपाकिास्थित रमदैया टोलमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ। जानकी मेडिकल कलेज रमदैयामा उपचाररत वर्ष ५० का स्थानीय राम बहादुर यादवको आइतवार विहान मृत्यु भएको प्रहरी निरिक्षक झाले बताए। उनका अनुसार ५ जना सिकिस्त अझै उपचार गराइराखेका छन् भने त्रासका कारण समेत मदिरा सेवन गर्नेहरु अस्पतालमा जाँच तथा औषधीउपचारकालागि पुगिरहेका छन्।

प्रकाशित: २ चैत्र २०७६ ०७:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App