समाज

कोरोनाले छुटायो प्रेम जोडी..

प्रेमिका स्टेला

भैरहवा - पछिल्लो समय कोरोनाको त्रास विश्वभरि फैलिएको छ। ठूला ठूला देशलाई त्रसित बनाएको कोरोनाले पर्यटन, अर्थ क्षेत्रलाई प्रभावित गरेको छ नै प्रेम सम्बन्धलाई पनि प्रभावित बनाएको छ। कहिले साथ नछोडने बाचा गरेका एक प्रेम जोडीलाई पनि कोरोनाले अलग गराएको छ।

१५ दिन अगाडि जर्मनीकी प्रेमिका स्टेला र पोर्चुगलका प्रेमी अलेकजेन्डर नेपाल आए। पर्यटकीय भिसामा नेपाल आएका ती जोडी पोखरा लुम्बिनीसहित नेपालका पर्यटकीय क्षेत्रमा भरपुर मनोरञ्जन गरे। नेपालका प्राकृतिक सम्पदामा ती जोडीले माया साटासाट गरे। सँगै नेपाल आएका जोडी भारत घुम्दै स्वदेश फर्किने मनसाय राखेर बिहीबार भारततर्फ प्रस्थान गर्ने निधो गरे।

बिहीबार स्टेला र अलेकजेन्डर बेलहियास्थित अध्यागमन कार्यालयमा संगै आए। खुशीका साथ दुबै जनाले कागजी काम गरेर राहदानीमा नेपालबाट प्रस्थानको छाप लगाई भारतीय अध्यागमन कार्यालय गए। स्वदेश जाने निर्णयका साथ कार्यालय पुगेका जोडी मध्ये प्रेमीलाई भिसा दिने प्रोमिकालाई नदिने भनेपछि दुबै जना अलमलमा परे। कोरोना भाइरसका कारण भारतले जर्मनीबाट आएका नागरिकलाई भिसा नदिने आदेशलाई कार्यान्वयन गर्दै प्रेमिका स्टेलालाई कार्यालयले भिसा दिएन।

संगै भारत घुमेर स्वदेश जाने सपना बोकेर आएका जोडी मध्ये अलेक्जेन्डरले मात्र भिसा पाएपछि दुबै जनाको सपना उड्यो। रोई कराई गरे पनि स्टेलालाई भिसा दिन नमानेपछि अलेकजेन्डर एक्लै भारत भ्रमणमा गए। बाध्य भएर स्टेला नेपाल फर्किनु प¥यो। रोई कराई प्रेमीसंगै भारत प्रवेशको लागि कार्यालयमा अनुरोध गरे पनि उनीहरुको प्रेमको सम्बन्धमा कोरोना तगारो बन्यो अनततः प्रेमका जोडी नेपाल र भारत गए।

पोर्चुगलको भएको कारण प्रेमी भारत प्रवेश गरे भने जर्मनीको भएकै कारण स्टेला भारत जान पाइनन्। विश्वका अधिकांश देशमा फैलिएको महामारी कोरोनाको संक्रमणले यी प्रेम जोडीलाई केही समयका लागि अगल बनायो।

अलेकजेन्डरले पे्रमिकालाई एक्लै छोडेर गएपछि रुदै नेपाल फर्किएकी छिन्। भारत जान नपाइएकी उनी त्रिभुवन बिमानस्थलबाट मात्रै स्वदेश फर्किनु पर्छ।  कोरोनाको त्रासले भारतले नेपाल र भुटान बाहेक कुनै पनि देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ। नेपालले पनि शनिबार मध्यरातबाट तेस्रो मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ।

अध्यागमन कार्यालय  वेलहियाबाट गत वर्ष मार्चमा २८ हजार ७ सय ८१ जना विदेशी पर्यटक नेपाल आएका थिए भने सो संख्या अहिले घटेर ८ हजार ३ सय ८८ पुगेको छ। यस्तै २७ हजार २ सय २८ जना विदेशी नागरिक गत वर्ष मार्चमा नेपालबाट बाहिरिएका थिए यो संख्या घटेर ८ हजार ५५ मा झरेको कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: २ चैत्र २०७६ ०६:३० आइतबार

काेराेना_भाइरस काेविड-१९ प्रेम_जाेडी