समाज

भास्कुलर रोगबारे धुलिखेल अस्पतालमा सम्मेलन

बनेपा – मुटु तथा रक्तनलीसम्बन्धी रोगहरूबारे भइरहेका पछिल्ला अध्ययन, अनुसन्धान र विकासबारे अनुभव आदानप्रदान गर्ने उद्देश्यले भास्कुलर समाज नेपाल र काठमाडौं विश्वविद्यालय–धुलिखेल अस्पतालद्वारा आयोजित भास्कुलर सिम्पोसियम–२०२० (सम्मेलन) शनिबार सम्पन्न भएको छ।

समाजका अध्यक्ष प्राध्यापक डा. उत्तमकृष्ण श्रेष्ठले मुलुकमा पछिल्ला वर्षहरूमा रक्तनलीसम्बन्धी रोगका बिरामीहरू बढ्दो क्रममा रहेकोमा चिन्ता व्यक्त गरे। ‘रक्तनलीसम्बन्धी रोगबारे समुदायस्तरमा जनचेतना जगाउनु अत्यावश्यक भइसकेको छ। यसका साथै उपत्यकाबाहिरका भास्कुलर चिकित्सकहरूलाई यस रोगको उपचार पद्धतिबारे अध्ययन–अनुसन्धान र उपचारमा सहभागी गराउनु अहिलेको आवश्यकता हो,’ उनले भने, ‘अब समाजले सातवटै प्रदेशमा शाखा विस्तार गर्दै भास्कुलर चिकित्सकहरूलाई संगठित गर्नुका साथै रोगको उपचार पद्धतिमा अनुसन्धान र उपचारमा ज्ञान र सीप आदानप्रदान गर्ने लक्ष राखेको छ।’

‘सम्मेलनमा अमेरिका, हल्यान्ड, इन्डोनेसियाका भास्कुलर रोग विशेषज्ञहरुका साथै नेपालमा कार्यरत भास्कुलर चिकित्सक गरी ८० जनाको सहभागिता रह्यो,’।

सम्मेलन आयोजक समितिका संयोजक एवं केयु–धुलिखेल अस्पताल, सर्जिकल विभागका कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जन डा. रविनमान कर्माचार्यले नेपालमै पहिलोपटक आयोजित अन्तर्राष्ट्रियस्तरको सम्मेलनमा धेरै देशबाट भास्कुलर विशेषज्ञहरू आउने निश्चित भए पनि कोरोना भाइरस (कोभिड–१९) का कारण संक्षिप्त रूपमा सम्मेलन सञ्चालन गरिएको जानकारी दिए। ‘सम्मेलनमा अमेरिका, हल्यान्ड, इन्डोनेसियाका भास्कुलर रोग विशेषज्ञहरुका साथै नेपालमा कार्यरत भास्कुलर चिकित्सक गरी ८० जनाको सहभागिता रह्यो,’ उनले भने, ‘सम्मेलनमा भास्कुलर रोगसम्बन्धी विदेश तथा नेपालका ३१ वटा कार्यपत्रमार्फत यस रोग तथा सर्जरीमा भइरहेका नवीनतम अनुसन्धान तथा उपचार पद्धतिहरूमा ज्ञान र अनुभव लिने अवसर मिल्यो।’

सम्मेलनका सहभागीहरूले पछिल्ला वर्षहरूमा मुटु तथा रक्तनलीका रोगहरूले नेपाली नागरिकलाई खर्चको भार बढाउँदै लगेको दृष्टान्त दिँदै सरकारले यो रोगलाई पनि उच्च प्राथमिकतामा राखेर अध्ययन, अनुसन्धान र उपचारमा विशेष सहयोग गर्नुपर्ने धारणा राखे। सो अवसरमा केयु–धुलिखेल अस्पताल सर्जिकल विभागका कार्डियोथोरासिक एन्ड भास्कुलर लेक्चरर डा. अमित सिंहलाई उत्कृष्ट कार्यपत्र प्रस्तोता, डा. कुशबहादुर राणालाई उत्कृष्ट घटना प्रस्तुतकर्ता र केयुकी रेजिडेन्ट सर्जन डा. तोषिमा कार्कीलाई भास्कुलर रोगमा उत्कृष्ट युवा अनुसन्धानकर्ताको उपाधिबाट सम्मान गरिएको थियो।

प्रकाशित: २ चैत्र २०७६ ०२:०५ आइतबार

धुलिखेल_अस्पताल भास्कुलर_रोग