समाज

गाउँमै पुगेर फिजियोथेरापी सेवा

रसुवा – जिल्ला अस्पताल रसुवामा रहेको फिजियोथेरापी युनिटले गाउँमै पुगेर फिजियोथेरापी सेवा प्रदान गरेको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ थुमनमा अपांगता भएका व्यक्ति, प्रजनन प्रणालीमा समस्या भएका महिला, १७ वर्षमुनिका अपांगता भएका बालबालिकाको स्वास्थ्य परीक्षण र थेरापी सेवा प्रदान गर्नुका साथै सहायक सामग्री वितरण गरिएको छ।

शुक्रबार सञ्चालन गरिएको फिजियोथेरापी तथा पुनःस्थापना विकेन्द्रित कार्यक्रममा ३८ जनाले सेवा लिए। लडेर वा अन्य कारणले घाइते भएका व्यक्तिको उपचारमा वेवास्ता गरेका कारण समस्या भएका बिरामी बढेको देखिएको छ। साथै यसले गर्दा अपांगता हुने जोखिम बढेको युनिटकी थेरापिस्ट ज्योति करन्जितले बताइन्। आएका बिरामी मध्ये ८ जनालाई थप सेवाका लागि युनिटमा रेफर गरिएको छ। ह्यान्डिक्याप इन्टरनेसनल र रसुवा अपांग पुनःस्थापना केन्द्रको सहयोगमा सेवा सञ्चालन गरिएको युनिटले जनाएको छ। परियोजनाको उद्देश्यअन्तर्गत संकटासन्न समुदायको पहिचान गरी थेरापी र पुनःस्थापना सेवा प्रदान गर्नुपर्ने भएकाले गाउँमा गएर सेवा प्रदान गरिएको रसुवा अपांग पुनःस्थापना केन्द्रका कार्यक्रम अधिकृत छिरिङ लामाले बताए।

‘अवस्था पहिचानकै लागि मात्र गाउँबाट युनिटमा आउने सम्भावना कम हुन्छ,’ उनले भने, ‘आगामी दिनमा अन्य स्थानमा पनि लैजाने योजना छ।’ थेरापी सेवासँगै त्यहाँ आएका सेवाग्राहीलाई संकटासन्न केन्द्रबिन्दु सञ्जालले अपांगता अधिकार तथा सेवासुविधा तथा कोरोना भाइरस (कोभिड–१९) बारे अभिमुखीकरण गरेको छ। भूकम्पपछि जिल्ला अस्पताल रसुवामा युनिट स्थापना गरेर फिजियोथेरापी सेवा सुरु गरिएको थियो। युनिटमा फिजियोथेरापिस्ट र सामाजिक कार्यकर्ता गरी दुई कर्मचारी छन्। भूकम्पप्रभावित सातवटा जिल्लामा फिजियोथेरापी सेवा सञ्चालनमा छ। ह्यान्डिक्याप इन्टरनेसनलको सहयोगमा रसुवासहित नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, दोलखा र गोरखा जिल्लामा फिजियोथेरापी सञ्चालन भइरहेको छ।

केन्द्रले एचआईको सहयोगमा स्वास्थ्य र सामाजिक सुरक्षामा अपांगता भएका महिलाहरू र बालबालिकाको पहुँचमा सहजीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ। परियोजनाअन्तर्गत जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सामाजिक सुरक्षा र विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको छ।

प्रकाशित: २ चैत्र २०७६ ०१:५३ आइतबार

फिजियोथेरापी रसुवा