समाज

दुर्गममा दाँतको उपचार पाउदा स्थानीय उत्साहित

निःशुल्क दन्त शिविरका दृश्य । तस्बिर : नागरिक

जुम्ला- जिल्लाको तिला गाउँपालिकाको दुर्गम क्षेत्रमा निःशुल्क दन्त शिविर सकिएको छ। तिला गाउँपालिका ९ को मानेचौर र ६ को सुडीगाउँमा निःशुल्क दन्त शिविर आयोजना गरिएको थियो। दन्त शिविरमा २ सय ८० जनाले सेवा लिएको हातेमालो नेपालका कार्यकारी निर्देशक टेकबहादुर रावत बताउँछन्।

तिला गाउँपालिकाको समन्वय, हातेमालो नेपालको आयोजना र बिएमडी एमआइ नेपालको सहयोगमा शिविर चलेको हो। उनका अनुसार दुर्गम क्षेत्रमा दाँत रोगीहरुको अवस्था बिकराल देखिएको छ। गाउँमा निःशुल्क दन्त शिविर चल्दा स्थानीय निकै उत्साहित थिए। पहिले तिला गाउँपालिकाको ६ घोडेमहादेव र पोखरी गाउँमा दन्त शिविर चलेको थियो।

दन्त शिविरले स्थानीयको दाँतको उपचार मात्र भएन, कार्यकारी निर्देशक रावतले भने,‘आर्थिक अभावले उपचार गर्न नसकेका दन्त रोगीको पनि निःशुल्क रुपमा उपचार भयो।’ त्यहाँदेखि सदरमुकाम खलंगासम्म दाँतको उपचार गर्न आउँदा झण्डै प्रतिब्यक्ति ३ हजार रुपैयाँसम्म लाग्छ। २ सय ८० जनाको उपचार गर्न आउँदा लाग्ने झण्डै ९ लाख रुपैयाँ बचेको छ।

कार्यकारी निर्देशक रावतका अनुसार आर्थिक अभावका कारण दाँतको रोग पालेर बसेकाहरुको उपचार गर्न पाउँदा चिकित्सक टोली पनि खुसी भएका थिए। निःशुल्क उपचार सेवा पाउँदा स्थानीय पनि हर्षित थिए। गाउँमा दन्त रोगी धेरै भएकोले पटक पटक दन्त शिविर सञ्चालन गर्नु पर्नेमा जोड दिइएको छ। यहाँ दन्त रोगी धेरै रहेछन्। सबै ठाउँमा शिविर गर्न आवश्यक छ। उनले भने,‘गाउँमा बालबालिकादेखि बृद्धबृद्धासम्म दन्त रोगी भेटिए। गाउँमा चुइगमको प्रयोग धेरै गर्नु, जंगलमा पाइने झुलेखोटो चपाउनु र धेरै गुलियो खानेकुरा खाने र कार्यब्यस्तताका कारण ब्रस नगर्ने गरेका कारण दाँतको रोग लाग्ने गरेको स्थानीयले सुनाएका थिए।

गाउँमा दाँत दुख्यो, उपचार गर्न सकिएन, स्थानीय जीवनबहादुुर बुढाले भने,‘उपचार गर्न नपाइ रोग पालेर बस्यौँ, मुखभरी ओभर दाँत आए। अनुहार बिग्रन थाल्यो। पायक पर्ने अस्पताल नहुने र दन्त सेवा नहुने भएकोले समस्या भयो। बल्ल निःशुल्क दन्त शिविर चलेपछि उपचार गर्ने मौका मिल्यो।’ पटक पटक दन्त शिविर सञ्चालन गर्न स्थानीयले माग गरेका छन्।

शिविरमा स्थानीय स्वास्थ्यकर्मी र विदेशी चिकित्सकले उपचार सेवा दिएका थिए। हातेमालो नेपालले कार्यक्षेत्रमा रहेका स्वास्थ्य संस्थाका प्रमुखलाई दन्त उपचार बारे तालिम र अभ्यास गराउनुका साथै डेन्टल सेट उपलब्ध गराइएको छ।  
 

 

प्रकाशित: १ चैत्र २०७६ १०:१८ शनिबार

दुर्गम उपचार स्थानीय_उत्साहित