समाज

सिद्धार्थ राजमार्ग आठ घण्टा बन्द

सिद्धार्थ राजमार्गका घुम्ती काटिँदै । तस्बिरः नागरिक

पाल्पा- सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड आज (शनिबार)बाट आठ घण्टा बन्द गरिएको छ। घुम्ती कटान गरि सडक स्तरोन्नति गर्न दैनिक आठ घण्टा बन्द गर्न थालिएको हो।

आज चैत १ देखि १२ गतेसम्म सडक बन्द गरेर दैनिक घुम्ती कटान गर्न थालिएको डिभिजन सडक कार्यालयले जनाएको छ। घुम्ती सडकका कारण अत्यधिक जोखिम बढेका कारण घुम्ती काट्ने कार्य सुरु गरिएको कार्यालय प्रमुख मुकुन्दराज अधिकारीले बताए। घुम्ती काटेर सडक सुधारको काम गर्न लागेको समयमा सर्वसाधारणलाई दुःख नहोस् भनेर तालिकाअनुसार सूचना सार्वजनिक गरि निर्माण कार्य थालिएको अधिकारीले बताए।

अबदेखि सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्ड बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म सडक बन्द हुनेछ। तोकिएको समय बाहेक अन्य समयमा भने सवारी साधन यथावत रुपमा चल्न दिने जिल्ला ट्राफिक प्रहरी प्रमुख पृथ्वी काफ्लेले बताए। उनी भन्छन्, ‘सडकको घुम्ती खन्न लागेको समयमा यात्रुलाई समस्या पर्न सक्छ त्यसैले अत्यावश्यक सवारीबाट अन्य सवारीले तोकिएको समयमा रोकिएर यात्रा गर्न सक्नेछन्।’

राजमार्ग पुनःस्थापना तथा स्तरोन्नति कार्यक्रम अन्तर्गत अत्यधिक दुघर्टना भएपछि सडक डिभिजनले घुम्ती काट्ने कामलाई अघि बढाएको हो। जोखिमपूर्ण घुम्ती व्यवस्थापन गर्नका लागि समय तोकेर सडक बन्द गरिएको कार्यालयले जनाएको छ।
 

प्रकाशित: १ चैत्र २०७६ ०८:०५ शनिबार

सिद्धार्थ_राजमार्ग बन्द