समाज

रसुवामा राष्ट्रिय परिचयपत्र वितरण सुरु

राष्ट्रिय परिचयपत्र लिँदै रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी। तस्बिर: हिमनाथ/नागरिक

रसुवा – रसुवामा बिहीबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। पहिलो चरणमा विवरण दर्ता गराएका चार सय एकजनाको परिचयपत्र छापिएर आएसँगै वितरण थालिएको हो।

सुरुमा प्रजिअ अर्जुन भण्डारीले परिचयपत्र लिएसँगै वितरण कार्य सुरु भएको हो। परिचयपत्र बनिसकेकाहरूलाई सन्देश जाने भएकाले वितरण छिटो हुने देखिएको छ। दैनिक ८० वटा विवरण दर्ता गर्नेगरी गएको साउन १५ गतेदेखि दर्ता सुरु भएको हो। त्यसयता करिब दुई हजार पाँच सयले विवरण दर्ता गराएका छन्। प्रजिअ अर्जुन भण्डारीले परिचयपत्र निर्माणका लागि विवरण दर्ता गर्न आउने सेवाग्राही बढ्न थालेका बताए।

‘बिस्तारै सेवाग्राही आउने क्रम बढेको छ,’ उनले भने, ‘अब परिचयपत्र वितरण सुरु भएकाले अन्यले पनि दर्ता गराउन आउँछन् भन्ने विश्वास छ।’ विवरण दर्ता गर्न जिल्ला प्रशासन कार्यालयमा दुईवटा डेक्स स्थापना गरिएको छ। दैनिक ८० वटा विवरण दर्ता गर्न सकिने भए पनि दैनिक २५ वटासम्म वितरण भएको प्रजिअ भण्डारीले बताए। उनले भने, ‘एउटा डेक्सबाट दैनिक ४० जनाको विवरण दर्ता गर्न सकिन्छ।’

एउटा विवरण भर्न १५ मिनेट लाग्छ। डेक्समा दुईजना प्राविधिक राखिएको छ। विवरण भर्दा २०७० सालको मतदाता परिचयपत्रसँग रुजु गराइन्छ। जिल्लाको २७ वटै वडामा घुम्ती शिविर सञ्चालन गर्ने योजना रहेको उनले बताए। परिचयपत्र निर्माणपछि नेपाली नागरिकको व्यक्तिगत तथा जैविक विवरणसहितको विवरण खुल्नेगरी विद्युतीय प्रणालीबाट तथ्यांक तयार गरिनेछ।

परिचयपत्र प्राप्त गर्न योग्य व्यक्तिले राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले तोकेको निकाय वा अधिकारीसमक्ष तोकिएअनुसारको ढाँचामा निवेदन दिनुपर्छ। निवेदन दिँदा परिचयपत्र प्राप्त गर्न चाहाने व्यक्तिले वा केन्द्रले तोकेको निकाय वा अधिकारीलाई डिजिटल तस्बिर, दुवै हातका १० औंलाका डिजिटल छाप, हस्ताक्षरलगायत व्यक्तिगत तथा जैविक विवरण उपलब्ध गराउनुपर्छ।

प्रकाशित: १ चैत्र २०७६ ०२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App