समाज

अनेरास्ववियु नेता राईलाई आठ वर्ष कैद

काठमाडौं – काठमाडौं जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई साढे आठ वर्ष कैद र क्षतिपूर्ति तिर्नुपर्नेगरी बिहीबार सजाय ठहर गरेको छ। जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले पीडितको अभियोग दाबी पुग्ने भन्दै राईलाई साढे आठ वर्ष कैद सजाय सुनाएको हो। पीडित युवतीका लागि एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्तिसमेत तिर्नुपर्ने अदालतको फैसला छ।

यसअघि नै जबर्जस्तीकरणी भएको ठहर गरिए पनि बिहीबार मात्र सजाय र क्षतिपूर्ति तोकिएको हो। राईले गोकर्णेश्वर नगरपालिका माकलबारीस्थित एक घरमा एक युवतीमाथि जबर्जस्तीकरणी गरेको भन्दै मुद्दा दर्ता भएको थियो। गत कात्तिकमा आफूमाथि जबर्जस्तीकरणी गरेको भन्दै युवतीले बौद्ध प्रहरीमा जाहेरी दर्ता गरेकी थिइन्। जाहेरी परेपछि प्रहरीले प्रमाण संकलन र पीडित महिलाको स्वास्थ्य परीक्षण गरेको जनाइएको थियो। त्यसलगत्तै राईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीको नियन्त्रणमा परेपछि राईलाई अनेरास्ववियुले केन्द्रीय सदस्य पदबाट निलम्बन गरेको थियो।

प्रकाशित: ३० फाल्गुन २०७६ ०५:३७ शुक्रबार

जबर्जस्तीकरणी कैद