समाज

आइसोलेसन वार्ड विस्तार गरियो

चितवन – भरतपुर अस्पतालले कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित वा शंकास्पदलाई राख्न बनाएको आइसोलेसन वार्डमा १४ शड्ढया थपिएको छ। यसअघि त्यहाँको आइसोलेसन वार्डमा पाँच शड्ढयाको मात्र व्यवस्था गरिएको थियो।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पाँच शड्ढयाको आइसोलेसन वार्डलाई विस्तार गरी १९ बेडको बनाइएको जानकारी दिए। डा. तिवारीद्वारा जारी विज्ञप्तिमा यसअघि तीन सदस्यीय रहेको कोभिड–१९ आउटब्रेक व्यवस्थापन समूहलाई १३ सदस्यीय बनाइएको समेत उल्लेख छ। मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीले पछिल्लो १० दिनभित्र रुघाखोकी तथा ज्वरो आएको वा दुई हप्ताभित्र विदेश (कोरोना प्रभावित देश) बाट फर्किएको वा त्यस्ता व्यक्तिसँग सम्पर्कमा रहेका व्यक्तिलाई सिधै अस्पतालको कोठा नंं. २०१ मार्फत सेवा लिन आग्रह गरेका छन्।

भरतपुर अस्पतालबाट हालसम्म दुई शंकास्पद बिरामीको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौंमा पठाइएकोमा कोरोना संक्रमण नभेटिएको डा. तिवारीले जानकारी दिए। बिहीबार थप एक शंकास्पद बिरामीको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको उनले बताए। भरतपुर अस्पतालको आइसोलेसन वार्डका स्रोतव्यक्ति डा. कल्याण सापकोटा कसैलाई कोरोना भाइरस कोरोना संक्रमणको शंका लागे र लक्षण मिले आइसोलेसन वार्डमा १४ दिनसम्म राखेर थप अनुसन्धान र आवश्यक उपचार गरिने बताउँछन्। उनले कोरोना भाइरसबाट बच्न हातको सरसफाइमा बढी ध्यान दिनुपर्ने बताए।

नेपाल चिकित्सक संघ चितवन शाखाका अध्यक्ष डा. प्रकाश खतिवडा चितवनमा कोरोना भाइरसबाट संक्रमित बिरामी अहिलेसम्म देखा नपरेको बताउँछन्। उनले कुनै बेला त्यस्ता बिरामी देखापर्न सक्ने सम्भावना भएकाले शंकास्पद बिरामीको परीक्षण र संक्रमितको उपचारका लागि आइसोलेसन वार्ड आवश्यक रहेको बताए।

चिकित्सकहरूका अनुसार कोरोनाको लक्षण देखाउन १० देखि १४ दिन लाग्छ। रुघा, खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या नै यसको मुख्य लक्षण हो। यसैबीच भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले पनि पाँच शड्ढयाको आइसोलेसन वार्ड निर्माण गरेको छ। कोरोना भाइरसबारे सर्वसाधारणलाई जानकारी दिन र शंकास्पद बिरामी पत्ता लगाउन अस्पताल गेटमै हेल्प डेस्क स्थापना गरिएको अस्पतालले जनाएको छ।

प्रकाशित: ३० फाल्गुन २०७६ ०१:५४ शुक्रबार

भरतपुर_अस्पताल आइसोलेसन_वार्ड