समाज

तीव्र तयारीमा जुट्यो प्रदेश २

लहान – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न प्रदेश २ ले तीव्र तयारी थालेको छ। सचेतना कार्यक्रम, आशंकित संक्रमितको पहिचान र उनीहरूलाई राख्ने ठाउँको तयारीमा सरकार लागिपरेको छ। कोरोना रोकथामका लागि प्रदेशका आठै जिल्लासँग सीमा जोडिएका २२ स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ। प्रदेशका तीन विमानस्थल सिमरा, जनकपुर र राजविराजमा पनि हेल्थ डेस्क स्थापना गरिसकिएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक नवल झाले बताए।

प्रभावित देशबाट आएकाहरूको विवरण लिने र श्वासप्रश्वाससम्बन्धी समस्या भए नजिकको स्वास्थ्य केन्द्रमा जान स्वास्थ्यकर्मीले घरघर पुगेर सचेत गराउने अभियान सञ्चालन गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारी विजय झाले बताए। उनका अनुसार प्रदेशमा स्थापित हेल्थ डेस्कमा स्वास्थ्यकर्मी पर्याप्त भए पनि उपकरण अभाव छ। त्यहाँ पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई), पर्याप्त मात्रामा इन्फ्रारेड थर्मोमिटर (थर्मल गन), मास्कलगायत उपकरण छैनन्। कतिपय स्थानीय तहले केही उपकरण (थर्मल गनलगायत) खरिद गरेका छन् तर त्यो पर्याप्त नभएको उनको भनाइ छ।

तीन ठाउँमा आइसोलेसन, आठ ठाउँमा क्वारेन्टाइन
प्रदेशमा कतै कोरोना संक्रमणको आशंका लागेका व्यक्ति पहिचान भए तत्काल उपचारका लागि धनुषाको रमदैयास्थित जानकी मेडिकल कलजमा ६० शड्ढया र जनकपुर उपमहानगरपालिकास्थित सिटी अस्पतालमा २० शड्ढयासहितको आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको निर्देशनालयका अधिकारी विजय झाले बताए। ‘वीरगन्जको नेसनल मेडिकल कलेजमा पनि ३५ शड्ढयासहितको आइसोलेसन वार्ड तयार हुँदै छ,’ उनले भने, ‘जनकपुरलाई केन्द्रमा राखेर आठ जिल्लाका तीन स्थानमा आइसोलेसन वार्ड स्थापना गर्ने योजना छ।’ सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा समेत आइसोलेसन वार्ड राख्ने तयारी भइरहेको छ।

प्रदेशका मध्य, पूर्व र पश्चिम (जनकपुर, राजविराज, वीरगन्ज) गरी तीन स्थानमा आइसोलेसन वार्ड राख्ने तयारी छ। जनकपुरमा ८० वटा शड्ढयासहितको आइसोलेसन वार्डको तयारी भइसकेको छ,’ उनले भने, ‘वार्ड तयार भइसके पनि खटिने स्वास्थ्यकर्मीले प्रयोग गर्ने उपकरण छैन।’ ग्लोब्स, मास्कलगायत उपकरणको अभाव खड्किएको उनको भनाइ छ। स्वास्थ्यकर्मी कोको खट्ने, शड्ढया कहाँ, कसरी राख्नेलगायत तयारी पूरा गरिसकेको उनले बताए। ‘जनकपुरका अन्य अस्पतालहरुमा समेत आइसोलेसन वार्डका लागि छलफल भइरहेको छ,’ उनले भने।

यसैगरी आठै जिल्लाको राजमार्ग क्षेत्रमा क्वारेन्टाइनको तयारी भइरहेको छ। ‘लहान, बर्दिबास, ढल्केवरलगायत पथलैयासम्मका आठ स्थानमा क्वारेन्टाइन राख्न गेस्ट हाउस, सिनेमा हल, खाली भवन तयार पारिरहेका छौं,’ झाले भने। क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीको छनोट तथा प्रशिक्षणका लागि पनि तयारी सुरु गरिएको छ।

आशंकितको रगत र स्वाब संकलन गरिने
आशंकित व्यक्तिको रगत वा स्वाब संकलनका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालालाई तयार अवस्थामा राखिएको निर्देशनालयका अधिकारी झाले जानकारी दिए। जानकी मेडिकल कलेजमा अर्को प्रयोगशालाको तयारी भइरहेको उनको भनाइ छ। प्रदेशको सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सचेतना नियन्त्रण र उपचारजन्य व्यवस्थापनमा भरपुर सहयोग भइरहेको झाले बताए। कोरोना भाइरसको संक्रमण चीन हुँदै विश्वका विभिन्न देशमा फैलिएपछि मानिसमा त्रास फैलिएको छ। तर त्रास यसको औषधि होइन। सचेतना अपनाए यसलाई अवश्य परास्त गर्न सकिन्छ भन्ने सूचनालाई आमजनतामाझ व्यापक रूपमा फैलाउनु आवश्यक रहेको सिरहाका प्रजिअ गोपालकुमार अधिकारीले बताए। उनका अनुसार सीमादेखि गाउँसहर सबै ठाउँमा सूक्ष्म निगरानी बढाइएको छ।

आँखाको उपचारका लागि आउने विदेशीबाट पनि चुनौती
नेपालकै अब्बल सगरमाथा चौधरी आँखा अस्पतालमा कुल बिरामीको ५० प्रतिशतभन्दा बढी भारतसहित तेस्रो मुलुकबाट आउँछन्। संक्रमित देशबाट आँखा उपचारका लागि आउने भएकाले उक्त अस्पतालमा समेत हेल्थ डेस्क स्थापना गरी जाँच सुरु गर्न लगाइएको प्रजिअ अधिकारीले बताए। यस अस्पतालसहित प्रदेश २ का अन्य आँखा अस्पतालमा पनि उपचारका लागि आउने बिरामीमध्ये भारतीयको संख्या धेरै हुन्छ। अस्पतालप्रतिको विश्वास कारण भारतबाट करिब ५० प्रतिशत बिरामी उपचारका लागि नेपाल आउँछन्।

भारतबाट आउने ती बिरामीमा कोरानाको संक्रमण छ÷छैन भनेर कसरी परिक्षण गर्ने भन्ने अन्योलसँगै चुनौती थपिएको छ। रौतहटको गौर आँखा अस्पताल र वीरगन्जको केडिया आँखा अस्पतालमा कुल बिरामीमध्ये करिब ५० प्रतिशत भारतीय हुन्छन्। भारतको दिल्ली, उत्तर प्रदेशलगायत कोरोना भाइरसका बिरामी भेटिएपछि मधेसका सर्वसाधारण चिन्तित छन्। दैनिक उपभोग्य वस्तु खरिदका लागि सीमापार जानेदेखि भारतका विभिन्न प्रान्तबाट आँखा उपचारका लागि आउने बिरामीले मधेसमा (प्रदेश २) कोरोना परीक्षण अभियानमा चुनौती थपिएको छ। सीमादेखि अस्पतालसम्म भरपर्दो जाँच उपकरण बन्दोबस्त नहुँदा यस भेगमा खतरा बढाएको छ। यी आँखा अस्पतालहरूमा आउने भारतीय र अन्य देशका आँखा बिरामीलाई सम्पूर्ण स्वास्थ्य जाँचको बन्दोबस्त नहुँदा जनमानसमा त्रास फैलिएको छ।

प्रकाशित: ३० फाल्गुन २०७६ ०१:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App