समाज

विद्यालय हिँडेकी शिक्षिका मृत फेला, हत्याको आशंका

ओखलढुंगा– विद्यालय हिँडेकी शिक्षिका मृत फेला परेकी छिन्। मोलुङ्ग गाउँपालिका–५ प्राप्चाकी ३२ वर्षिया हिरादेवी कटुवाल कार्की मृत फेला परेकी हुन्।

मंगलबार बिहान साढे ८ बजे विद्यालय हिँडेकी कार्कीलाई प्राप्चाकै भतेरे भन्ने ठाँउको ओखरबोट नजिक स्थानीयले उनलाई मृत फेला पारेका हुन्। बाटो भन्दा करिब १० मिटर मुनी कार्कीको शव फेला परेको विद्यालयका प्रधानाध्यापक केशव दाहालले बताए।

हत्याको आशंका
शिक्षिका कार्कीको मृत्युलाई हत्याको आशंका गरिएको छ। मृतक कार्कीको टाउको र चिउडोमा गहिरो ढुंगाले हानेको जस्तो चोट भएकाले स्थानीयले हत्याको आशंका गरेका हुन्। ‘यस्तो सजिलोमा ठाउँमा मान्छे लडेर मर्न सक्दैन, कसैले हत्या गरेको हुन सक्छ।’ प्रधानाध्यापक दाहालले भने ‘कार्कीको टाउकोको पछाडी पट्टिको भाग र चिउडोमा ढुंगाले हानेको गहिरो चोट छ।’ साथै उनले बोकेको ब्यागको फिता चुडिएको छ, उनको साथमा रहेको मोबाईल पनि घटनास्थलमा छैन, त्यसैले कसैले हत्या गरेको हुन सक्छ, दाहालले भने।

कार्कीको हत्या आशंकामा प्रहरीले पनि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए। घटना प्रकृति अनुसार शंकास्पद देखिएकाले हत्या भएको हुन सक्ने प्रहरी निरीक्षक बस्नेतको भनाई छ। प्रहरी घटनास्थल पुगी सर्जिमिन मुचुल्का गरी शवको पोष्टमार्टम पश्चात परिवारको जिम्मा लगाइएको छ।

कार्की सोहि गाउँपालिकाको वडा नं.६ श्रीचउरमा रहेको सहिद पेशल आधारभूत विद्यालयमा २०६६ सालदेखि बालशिक्षा सहयोगीका रुपमा कार्यरत थिइन्। उनको अढाई वर्षको छोरा छ। उनको श्रीमान एक महिना अघिमात्र वैदेशिक रोजगारीबाट घर फर्किएका थिए।

 

प्रकाशित: २८ फाल्गुन २०७६ ११:५२ बुधबार

शिक्षिका_मृत_फेला हत्या आशंका